चिनियाँ राष्ट्रपति सीका दूत बनेर आउँदैछन् चिनियाँ रक्षामन्त्री

निरन्तर न्यूज
१२ मंसिर २०७७, शुक्रबार ०९:४९

काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष दूत बनेर चिनियाँ रक्षामन्त्री वेई फेङहे आइतबार नै विशेष जहाजबाट काठमाडौंमा उत्रिदैछन्। परराष्ट्र मन्त्रालय र चिनियाँ राजदूतावासले रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणको तयारी छुट्टाछुट्टै गरिरहेका छन्।

भारतिय अधिकारीहरुको भ्रमण बढिरहेका बेला चीनलेपनि नेपालप्रति चासो बढाएको छ । राष्ट्रपति सी चिनफिङको सन्देश लिएर नेपाल आउने रक्षामन्त्रीको भ्रमण नेपालमा चिनियाँ उच्च अधिकारीको आगमन हो ।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयल र भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणलगत्तै नेपाल–भारत सचिवस्तरीय वार्ताका लागि भारतीय भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला पनि काठमाडौं आएका छन् । उनी गए लगत्तै चिनियाँ रक्षामन्त्री फेङहे नेपाल आउन लागेका हुन्।

 

गत वर्ष चीन भ्रमणमा गएका बेला उपप्रधानमन्त्री ईश्वर पोख्रेलले तत्कालीन रक्षामन्त्रीको हैसियतमा चिनियाँ समकक्षी फेङ्हेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। झट्ट हेर्दा नियमितजस्तो देखिए पनि अन्तर्राष्ट्रिय उडान सुचारु नभएको र नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमण अर्थपूर्ण र राजनीतिक केन्द्रित हुने विश्लेषक बताउँछन्।

सत्तारुढ दल नेकपा गम्भीर संकटमा परेका बेला फेङ्हेको नेपाल भ्रमण रक्षा मामिलाभन्दा पनि राजनीतिक विषयमा केन्द्रित हुने देखिएको छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्। उनले नेकपाका केही शीर्ष नेतालाई सामूहिक भेट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ।

चिनियाँ राजदूत होउ यान्छीले नेकपाका दुई अध्यक्षमध्ये एक पुष्पकमल दाहालसँग सोमबार बिहान भेट गरेकी छन्। उक्त भेटमा नेकपाको विवाद र फेङ्हेको भ्रमणबारे छलफल भएको थियो। राजदूत यान्छीले चिनियाँ रक्षामन्त्रीको भ्रमणबारे औपचारिक जानकारी दाहाललाई गराएको स्रोतले बताएको छ। ती स्रोतका अनुसार राजदूत यान्छीले फेङ्हेले नेकपाका केही शीर्ष नेतालाई सामूहिक भेट्न सक्नेबारे पनि दाहाललाई जानकारी दिइन्।

उनले गत मंगलबार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई छुट्टाछुट्टै भेट गरी यसबारे औपचारिक जानकारी गराएकी थिइन्। फेङ्हेले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने कार्यक्रम छ। नेकपाभित्र गहिरो संकट आउनु, अमेरिकी परियोजना एमसीसी पास गर्न खोज्नु र बीआरआईका परियोजनालाई प्राथमिकतामा नराखेको विषयमा चीन प्रधानमन्त्री ओलीसँग सशंकित देखिएको छ।

नेकपाभित्र जतिबेला विवाद उत्कर्षमा पुग्छ त्यतिबेला चिनियाँ राजदूतले नेकपा नेताहरूसँग बाक्लो भेटवार्ता गर्दै आएकी छन्। उनले केही महिनाअघि प्रधानमन्त्री ओलीसँग भेट गरी पार्टी फुट्नुभन्दा एक पद छाड्दा उपयुक्त हुने बेइजिङको सन्देश सुनाएकी थिइन्।

नेकपा फुट्ने अवस्थामा पुगे प्रधानमन्त्री ओलीले एक पद त्यागेर पार्टी जोगाउनुपर्ने पक्षमा चीन देखिएको छ। त्यसपछि प्रधानमन्त्री ओली चीनप्रति थप सशंकित भएका थिए भने राजदूतलाई पनि लामो समय भेट दिएका थिएनन्।

प्रधानमन्त्री ओली र चिनियाँ अधिकारीबीच एकअर्कामा विश्वासको वातावरण देखिएको छैन। राजदूत यान्छीले सरकारसँगको चीनको पछिल्लो सम्बन्ध, अमेरिकी परियोजना एमसीसी र चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै हुने प्रदर्शनबारे बेइजिङमा रिपोर्टिङ गरेको स्रोतले बताएको छ। फेङ्हेको भ्रमण पूर्णरूपमा राजनीतिक हुने त्यसमा पनि फुटबाट नेकपालाई जोगाउने, प्रधानमन्त्री ओलीसँग चिसिएको सम्बन्ध सुमधुर बनाउन केन्द्रित हुने स्रोतले बताएको छ।

उपप्रधानमन्त्री पोखरेल र प्रधानसेनापति थापाले गत वर्ष फरक–फरक समयमा चीन भ्रमण गरेका थिए। उपप्रधानमन्त्री पोखरेलको भ्रमणका बेला चीनले नेपाली सेनालाई दिने २.५ विलियन चिनियाँ मुद्राबराबरको सैन्य सहयोगमा हस्ताक्षर भएको थियो। चिनियाँ रक्षामन्त्रीको भ्रमणका बेला विगतका भएका सम्झौताबमोजिमको सहयोग हस्तान्तरण हुने र केही महत्वपूर्ण रक्षा सम्झौता हुन सक्ने अपेक्षा गरिएको छ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास हुँदै आएको छ। कोरोना भाइरस संक्रमणका कारण यो वर्ष भने संयुक्त सैन्य अभ्यास रोकिएको छ। चिनियाँ रक्षामन्त्री र भारतीय विदेशसचिव नेपाल आउने पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आइतबार चारवटै सुरक्षा प्रमुखसँग पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*