जसपाले आज मकवानपुर लगायत देशैभर मशाल जुलुस निकाल्ने
काठमाडौं । जनता समाजवादी पार्टीले शनिबार देशका ७७ वटै जिल्लामा मसाल जुलुस निकाल्ने भएको छ । सरकारले संसद विघटन गरेर प्रतिगामी कदम चालेको निष्कर्ष निकाल्दै यसको विरोधमा जसपा विभिन्न चरणका विरोध प्रदर्शन आयोजना गरिरहेको छ ।
जसपाले बागमती प्रदेशकाे राजधानी हेटाैँडामा पनि विशाल मसाल जुलुसकाे तयारी गरेकाे स्थानीय नेताले जानकारी दिएका छन् । पार्टीकाे संघीय कार्यक्रम अनुसार जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस निकाल्ने तयारी भएकाे उक्त नेताले जानकारी दिए ।
जसपाले संसद जीवितै रहेको भन्दै सभामुख अग्नि सापकोटालाई भेटेर बैठक बोलाउन आग्रह पनि गरिसकेको छ । शुक्रबार जसपाले देशव्यापीरुपमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको थियो ।
‘आज जनता समाजवादी पार्टी नेपालले केपी ओलीको असंवैधानिक संसद विघटनको विरोधमा जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानमा मशाल जुलुसको आयोजना गर्दैछ । मशाल जुलुसमा सबै अभियन्ता र जनसमुदायलाई सहभागिताको लागि हार्दिक आह्वान गर्दछौं,’ जसपाले भनेको छ ।







