आक्रामक आन्दाेलनकाे तयारीमा लाग्न कार्यकर्तालाई प्रचण्डकाे निर्देशन

निरन्तर न्यूज
५ माघ २०७७, सोमबार ०७:१७

काठमाडाैं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रामक आन्दोलनको तयारीका लागि कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा प्रचण्ड–नेपाल निकट अनेरास्ववियू उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले देशलाई प्रतिक्रान्तिको अँध्यारो, भड्खालोमा हालेको हेर्न नसकिने भन्दै आक्रामक आन्दोलनको तयारीका लागि कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

प्रचण्डले जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेको इतिहास स्मरण गराउँदै बरु मर्न तयार रहेको तर झुक्न नसकिने बताए । अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार हुँदा, सिंगो देश स्तब्ध भए पनि प्रधानमन्त्री ओली हाँस्दै हिँडेको टिप्पणी गरे ।

उनले आफूहरु माक्सवादप्रति निष्ठावान हुँदै इमान्दार भएर अघि बढ्ने तथा आफूहरुको कम्युनिष्ट आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए । त्यस्तै उनले निर्वाचन आयोगलाई शंका गर्न नचाहेको भन्दै ओली पक्षले सेटिङ गर्दै हिडेको भनेपछि आशंका उव्जेको बताए । प्रचण्डले सिंगो राष्ट्र केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध रहेको दाबी गरे ।

त्यस्तै नेकपा बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली कमरेड नभएर प्रतिक्रान्तिकारी भएको टिप्प्णी गरे । नेता खनालले ओली दक्षिणपन्थी भासमा फसेको आरोप समेत लगाए । उनले संविधानको भावना बमोजिम संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नहुने फैसला सर्वोच्चले सुनाउने बताए ।

भेलालाई सम्बोधन गर्दै नेकपा नेता भीम रावलले राष्ट्रपतिले सरकारले सिफारिस गर्ने बित्तिकै प्रतिनिधिसभा विघटन गरेकोमा समेत प्रश्न गरे । नेकपा (एमाले) हुँदाबाट नै ओलीले गुटबन्दी सुरु गरेको आरोप उनले लगाए ।

त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संविधानको कुन धाराअन्तर्गतको प्रधानमन्त्री हो स्पष्ट पार्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*