एकताका नाममा वामदेवले भ्रम फिँजाए : नेपाल

आफ्ना मान्छेलाई ओली समूहमा पठाएकाे आराेप
निरन्तर न्यूज
५ माघ २०७७, सोमबार ०७:४०

बाँके । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमले ओली समूहलाई सघाइरहेको संकेत गरेका छन् । अध्यक्ष नेपालले एकता अभियानको नाममा भ्रम फिँजाएको र आफ्ना नजिकका नेताहरुलाई ओलीतिर लगाएको आरोप लगाएका हुन् ।

नेपालगञ्जमा आइतवार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमा अध्यक्ष नेपालले आफुलाई सत्तामा पुग्नका लागि ओलीले पार्टी एकतालाई सिढीको रुपमा मात्रै प्रयोग गरेको बताए ।

केपी ओली अहिलेसम्म कम्युनिष्ट पार्टी एकताको अभियानमा सहभागी नभएको दावी गर्दै अध्यक्ष नेपालले ओली तानाशाही बन्न खोजेको बताए ।

उनले विगतमा आफु र झलनाथ खनाल प्रधानमन्त्री हुँदा सामान्य समस्या आउँदा राजीनामा दिएको स्मरण गर्दै अहिले ओलीले पार्टीमा बहुमत गुमाएको अवस्थामा राजीनामा दिनु नै उत्तम हुने दावी गरे ।

सम्बोधनको क्रममा उनले ओलीलाई महाभारतका खलपात्र दुर्योधनक संज्ञा दिँदै भने, ‘हारिसक्दा पनि दम्भ र अहंकारले अन्तिम अवस्थामा युद्ध लडिरहेका दुर्योधन जस्तै पात्र हुन् ओली ।’

उनले अगाडि थपे, ‘कौरवका सारा ९९ भाइ मरिसकेका छन् । दुर्योधनको भने फुर्ती घटेकै छैन । यस्तै प्रवृत्ति बोकेका व्यक्ति हुन्, पात्र हुन् केपी ओली । ओलीको अब फुर्ती चल्नेवाला छैन ।’

नेता नेपालले ओलीको नेकपालाई ‘धुन्धुकारी’, ‘मेला, झमेला भएको माछा बजार’ र जात्रा जस्ता उपमा दिए । ‘काठमाडौंमा भएका जात्रा जस्तै जात्रामा सामेल हुनुस् । सदस्य बनिहाल्नुस्’, उनले भने ।

कार्यक्रममा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले गरेको प्रतिनिधीसभा विघटनलाई प्रतिगमनको संज्ञा दिए । भेलामा नेकपा स्थायी कमिटिका सदस्य युवराज ज्ञवाली, वर्षमान पुन, ओनसरी घर्ती लगायतले सम्बोधन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*