छनाेट खेलमा जाेर्डनसँग नेपालकाे हार

निरन्तर न्यूज
२५ जेष्ठ २०७८, मंगलवार ०६:२०

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्‍वकप फुटबल तथा २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनौटअन्तर्गत गएराति भएको खेलमा नेपालले हार व्यहोरेको छ । समूह बी अन्तर्गत आफ्नो सातौं खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको हो ।

जोर्डनको जीतमा बाह फैसलले २ गोल गरे भने याजान अलरबले १ गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको जोर्डनले दोस्रो हाफमा २ गोल थपेको थियो ।

खेलको २३औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत अग्रता लिएको थियो । रोहित चन्दले सुलेमानलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिए जसमा बाहा फैसल सेफले गोल गर्दै टोलीलाई अघि बढाए । गोलरक्षक किरणले सहि दिशामा डाइभ गरेको भएपनि शक्तिशाली प्रहार रोक्न सकेनन् ।

खेलको २९औं मिनेटमा नै नेपालले खेलाडी परिवर्तन गर्नुपरेको थियो । डिफेन्डर विकास खवास घाइते हुँदै बाहिरिएपछि सुनिल बल मैदान प्रवेश गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै जोर्डनले आफ्नो अग्रता दोब्बर पार्यो । ४८औं मिनेटमा सेफले व्यक्तिगत दोस्रो गोल गरे । उनले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो ।

६८औं मिनेटमा जोर्डनले ३-० को अग्रता लियो । दायाँ विंगबाट आएको क्रसलाई याजान अलअरबले सहजै हेडरमार्फत गोल गरेका थिए । त्यसपछि कुनै गोल भएनन् र जोर्डन ३ अंक जोड्न सफल रह्‍यो ।

जोर्डनले निरन्तर आक्रमण बुन्दै नेपाली डिफेन्सलाई दबाबमा राखेको थियो । जोर्डनका केही उत्कृष्‍ट प्रहार गोलरक्षक किरणले बचाउ गरेका थिए । बल पोसेसन अधिकांश समय नियन्त्रणमा राखेको जोर्डनसामू नेपालले एक-दुईपटक प्रयास गर्नुबाहेक कुनैपनि अवसर सिर्जना गर्न सकेन ।

यस हारसँगै नेपाल विश्‍वकप छनौटको होडबाट बाहिरिएको छ । यद्यपि नेपाल एसियन कपमा छनौट हुने सम्भावना भने जीवितै रहेको छ ।

यस जीतसँगै जोर्डन ६ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी कुवेत समान खेलमा १० अंक सहित तेस्रो स्थानमा छ । गएराति नै भएको अर्को खेलमा अस्ट्रेलियाले ताइपेईलाई ५-१ ले हराउँदै शतप्रतिशत जीतसहित ६ खेलमा १८ अंक जोडेर शीर्षस्थानमा यथावत् छ ।

नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अर्को खेलमा जीत हासिल गरेर अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ । हार व्यहोरेमा नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउन भने सक्नेछ ।

नेपालले अब आफ्नो अर्को खेल शुक्रबार अस्ट्रेलियासँग खेल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*