साबित्रा भण्डारी साम्बालाई मकवानपुरमा सम्मान
हेटौडा । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) मकवानपुरमा आयोजित एक विशेष कार्यक्रममा सम्मानित भएकी छन्। ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ शीर्षकको उक्त कार्यक्रममा सञ्चारिका समूह नेपाल, मकवानपुर शाखा र आर्थिक प्रायोजनकर्ता हेटौडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवं खेलकुद प्रेमी पुरन बहादुर जोशीको सहकार्यमा साम्बालाई नगद ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि हेटौडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चम्काउने खेलाडी साम्बालाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्दै भने, “राष्ट्रिय गौरव बढाउने खेलाडीहरू हाम्रो प्रेरणाका स्रोत हुन्। उनीहरूसँग एउटै मञ्चमा उभिन पाउनु गर्वको कुरा हो।”
विशिष्ट अतिथि पुरन बहादुर जोशीले खेल क्षेत्रप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्दै भने, “खेलमा योगदान दिने महिलाहरूलाई अझ धेरै मान्यता दिनुपर्छ। यस्ता सम्मानले अरूलाई पनि प्रेरणा दिन्छ।”
सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङले भनिन्, “साम्बाले आफ्नो मेहनत र लगनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएकी छन्। हामी उनको योगदानको उच्च मूल्यांकन गर्छौं।”
उक्त कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, खेलप्रेमी, सञ्चारकर्मी तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।
सम्मान ग्रहण गर्दै साम्बाले भनिन्, “यो सम्मानले मलाई अझ कडा मेहनत गर्न प्रेरणा दिएको छ। म आगामी दिनमा पनि देशलाई गर्व गर्न लायक उपलब्धि दिलाउने प्रयासमा लागिरहनेछु।”
नेपाली महिला फुटबल इतिहासमै सर्वाधिक गोलकर्ता साम्बाले देश तथा विदेशका प्रतिष्ठित क्लबहरूमा सफलता हासिल गरेकी छन्। उनी नेपालको महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रमुख खेलाडीमध्ये एक हुन्।













