पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । पछिल्लोपटक मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मङ्गलबार फेरि इन्धनको मूल्य बढाएको हो ।
आजदेखि लागु हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई दुई रुपैयाँले वृद्धि गरिएको हो । यसअघि गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ ।
त्यसैगरी डिजेल/मट्टितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुगेको छ ।
त्यसैगरी यसपटक खाना पकाउने ग्याँसको मूल्य पनि बढेको छ । प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि भएपछि अब ग्याँसको मूल्य रु १४२५ रुपैयाँ कायम गरिएको छ ।
गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।
निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने कुरा यसअघि नै बताउँदै आएको छ ।