कैलाशको आगामी आर्थिक बर्षको लागि ५१ करोड बजेट पारित
हेटौंडा । कैलाश गाउँपालिकाको दशौं गाउँसभाले सार्वजनिक गरेको ५१ करोड १५ लाख ९८ हजारको बजेट सर्वसम्मत पारित गरेको छ।आज बसेको सभाले कैलाश गाउँपालिकाको गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार बजेटले प्राथमिकतामा पारेका क्षेत्रमा भौतिक एवं सामाजिक पूर्वाधारको विकास गरि कैलाश बासिको जीवनयापनमा सहजिकरण गर्ने,कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकिकरण गर्ने, सीपयुक्त मानव विकासमा जोड दिने, जनसहभागिता र पारदर्शिता कायम गरि सुशासन प्रबद्र्धन गर्ने जस्ता कार्यक्रम तय गरिएका छन्। बजेट गाउँपालिका उपाध्यक्ष बाल कुमार मल्ल ठकुरीले आजको सभामा प्रस्तुत गरेका थिए।
यस्तो छ बजेटका केहि प्रमुख कार्यक्रमहरु :
*शिक्षा तर्फ ९४ लाख २२ हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।
*कैलाश गाउँपालिकाका सबै नागरिकलाई स्वस्थ बनाइ सबल मानव पुँजी निर्माणका लागि संघीय एवं प्रदेश तहसँगको समन्वयमा निशुल्क आधारभुत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि सामाजिक विकासतर्फ ३४ लाख ६५ हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।
*महिला, बालबालिका, अपांग, दलित, पिछडिएका वर्ग, अल्पसंख्यक, सिमान्तकृत, लोपोन्मुख र अति विपन्न वर्गहरुको क्षमता अभिवृद्धि, नेतृत्व विकास र शसक्तिकरणका लागि ८ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
*कैलाशका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यका साथ खेलकुद पूर्वाधारको विकास गर्न तथा खेल मैदान निर्माण गर्न २५ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
*एक घर एक धारा कार्यक्रम र सुख्खा क्षेत्र खानेपानी योजनाका लागि २९ लाख ५० हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।
*प्रथा, परम्परा, संस्कृति सम्पदा, संग्रहालय आदिको विकास र विस्तारका लागि ११ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
*सडक पूर्वाधारको विकासका लागि ८ करोड ५४ लाख ७७ हजार रुपैंया र भवन पूर्वाधारतर्फ १ करोड १२ लाख ५० हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।
*उज्यालो कैलाश, समृद्ध कैलाश अभियानको रुपमा विकास गरि विद्युत पूर्वाधारको निर्माण गर्न ५० लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
*सिंचाई क्षेत्रको लागि १० करोड ५३ लाख २६ हजार ५ सय रुपैंया, कृषि क्षेत्रको लागि ३३ लाख रुपैंया, पशुपन्छी क्षेत्रको लागि २२ लाख रुपैंया, घरेलु तथा लघु उद्योग क्षेत्रका लागि ३ लाख ५० हजार रुपैंया, पर्यटन विकास तथा प्रबद्र्धनका लागि ३८ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।







