अब घरजग्गा राखेर कति पाइन्छ ऋण ?

निरन्तर न्यूज
८ श्रावण २०७९, आईतवार १२:२५

काठमाडौं – चालु आर्थिक वर्षको मौद्रिक नीतिले काठमाडौंमा घरजग्गा राखेर ३० प्रतिशत भन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाई गरेको हो।

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यो कडाईले घरजग्गा कारोबारलाई थप संकुचित बनाउने बताएका छन् ।

पछिल्लो समयमा तरलता अभावका कारण घरजग्गा कारोबार घट्न थालेको प्रक्षेपण गर्दै अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाडौंभित्र ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको जनाएका छन् ।

यसअघि काठमाडौं उपत्यका भित्र अनुपात ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशत थियो।

त्यस्तै, राष्ट्र बैंकले उत्पादन मुलक र निर्यातजन्य क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा वितरण गर्ने व्यवस्था ल्याएको छ। आज मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था गरिदिएको हो। उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइने राष्ट्र बैंकले जनाएको छ।

मौद्रिक नीतिमा भनिएको छ, ‘हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिनेछ।’

त्यस्तै, राष्ट्र बैंकले ८ प्रतिशत आर्थिक वृद्धिदर र ७ प्रतिशत मुद्रास्फीतिलाई कायम राख्ने भएको छ। मौद्रिक नीतिले नेपाल सरकारको बजेट वक्तव्य २०७९÷८० ले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको हो।

नेपाल जस्तो सानो र आयातमा आधारित खुला अर्थतन्त्र भएको मुलुकले सुविधाजनक स्तरमा विदेशी विनिमय सञ्चिति कायम गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम राख्दै माग पक्षबाट मूल्यमा चाप पर्न नदिई लक्षित आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*