चुनाव घोषणापछि सांसदले तलबभत्ता नलिउँ : बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्वाचन घोषणापछिको संसद्लाई कायम राख्नुपर्ने बताएका छन् ।
उनले लोकतन्त्र रक्षाका लागि निर्वाचन घोषणापछि पनि पुरानै प्रतिनिधिसभा कायम राख्नुपर्ने आवश्यकता औल्याउँदै विगतमा पनि यस्तो अभ्यास रहेको बताएका हुन् । उनले सांसदले तलबभत्ता नलिन सकिने बताए ।
‘विगतमा प्रतिनिधिसभा रिक्त रहँदा लोकतन्त्र धरापमा पार्ने हर्कत भएको कटु अनुभवबाट सिकेर संविधान सभामा बृहत् छलफल गरेरै अर्को निर्वाचित सभा नबनेसम्म पुरानै कायम राख्ने सहमति भएको हो’, डा.भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बरू निर्वाचन घोषणा भएपछि संसद् निष्क्रिय राखौं र तलबभत्ता नदिऊँ/नलिऊँ तर राजनीतिक रिक्तता सिर्जना नगरौं ।’







