दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ : मन्त्री भुसाल

निरन्तर न्यूज
२२ भाद्र २०७९, बुधबार २०:४०

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम भइरहेको बताएकी छिन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसद डा.भीमबहादुर रावलले, ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएकाले’ भन्ने जरूरी सार्वजनिक महत्वको विषयमाथि छलफलका क्रममा उनले सो कुरा बताएकी हुन् ।

मुलुकभित्र उपलब्ध जलविद्युतको उत्पादन तथा समुचित विकासबाट उज्यालो नेपाल बनाउन सरकारसँग स्पष्ट मार्गचित्र रहेको उल्लेख गर्दै उनले आर्थिक र प्राविधिक कारण अपेक्षाअनुसार उत्पादन गर्न नसकिएको उल्लेख गरिन् ।

मुलुकभित्र लोड सेडिङ अन्त्य भएको जनाउँदै मन्त्री भुसालले जलविद्युत् उत्पादनका क्षेत्रमा निजी क्षेत्रले गरेको भूमिका प्रसंशीय रहेको बताइन् ।जलाशययुक्त जलविद्युत् आयोजनामध्ये धेरैको अध्ययन भइरहेको र बूढीगंगा र दूधकोसी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन् ।

माथिल्लो कर्णाली आयोजनाका सन्दर्भमा जिएम आर कम्पनीसँग भएको सम्झौताका बारेमा जानकारी गराउँदै यसबाट उत्पादित विद्युत् बंगलादेशसम्म निर्यात गर्न सकिने मन्त्री भुसालको भनाइ थियो ।

यसैगरी उनले पश्चिम सेती जलविद्युत् आयोजनाका विषयमा हालसम्म भएका कामका बारेमा सदनलाई जानकारी गराइन् । सांसद रावलले उक्त जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उनले माथिल्लो जलविद्युत् आयोजना भारतीय जिएमआर कम्पनीले बनाउने गरी आजभन्दा १४ वर्ष अगाडि गरिएको सम्झौता आजसम्म पनि अगाडि बढ्न नसकेको र अहिले आएर अर्को कम्पनीसँग थप सम्झौता गरेको जनाउँदै त्यस्ता काम नगर्ने तथा आयोजना ओगटेर मात्र राख्ने सम्झौता खारेज गर्न माग गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*