राष्ट्रपति भण्डारीद्वारा संविधानको उल्लंघन, नागरिकता विधेयक प्रमाणीकरण भएन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गम्भीर उल्लंघन गरेकी छन् । संघीय संसदले पारित गरेको नागरिकता विधेयक १५ दिनभित्र प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गरेकी हुन् ।
संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिले कुनै पनि विधेयक संसदबाट आएको १५ दिनभित्र प्रमाणीकरण गर्नै पर्छ । त्यसै अनुसार नागरिकता विधेयक मंगगलबार राति १२ बजेसम्म प्रमाणीकरण गर्नुपर्ने थियो । तर राष्ट्रपति भण्डारीले यो प्रावधान उल्लंघन गरेकी छन् ।
संविधानको धारा ११३ (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’
राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेर २० भदौमा राष्ट्रपति कहाँ पठाएको थियो ।
राष्ट्रपति कार्यालय, शीतल निवासले विधेयक प्रमाणीकरण नगर्नुको कुनै कारण दिएको छैन । कानुनविद्ले भने राष्ट्रपतिको यो कदमले संवैधानिक व्यवस्थाको गम्भीर उल्लंघन भएको बताएका छन् ।
सत्ता गठबन्धनले राष्ट्रपतिको पछिल्लो कदमबारे छलफल गर्न बुधबार बैठक बोलाएको छ । सम्भवत अब राष्ट्रपति भण्डारीमाथि राजीनामाको दबाब बढ्नेछ । संविधानको पालना गराउनु पर्ने कुर्सीमा बसेर आफै संवैधानिक प्रावधानको उल्लंघन गरेपछि उनी अब गम्भीर नैतिक संकटमा परेकी छन् ।
कतिपयले बुधबार राष्ट्रपतिले राजीनामा दिने समेत बताएका छन् । सत्ता साझेदार दल भने यसबारे कानूनी लडाइँमा जाने तयारीमा छन् । बुधबार नै राष्ट्रपतिविरुद्ध मुद्दा पर्ने सम्भावना रहेको बताइएको छ । नेपाल भ्युजबाट ।