सरकारले शून्य लागतमा ‘मौसमी श्रमिक’ विदेश पठाउने

निरन्तर न्यूज
३ पुष २०७९, आईतवार २०:०८

काठमाण्डाैँ । सरकारले शून्य लागतमा ‘मौसमी’ कामदारको रूपमा श्रमिकलाई विदेश पठाउने तयारी गरिरहेको छ । दक्षिण कोरिया, बेलायत, जर्मनी लगायत विभिन्न मुलुकमा मौसमी श्रमिक शून्य लागतमा पठाउने सरकारले तयारी गरिरहेको छ ।

पछिल्लो समय मौसमी कामका लागि नेपाली श्रमिकको आकर्षण बढ्दै गएको छ । जस कारण ठगीको जोखिमसमेत बढ्न थालेपछि सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको हो । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक कार्यविधिको ‘ड्राफ्ट’ बनाएर मन्त्रिपरिषद्‌मा पठाइसकेको छ ।

मौसमी श्रमिक श्रम स्वीकृति लिएर भन्दा पनि कन्सल्टेन्सीहरू, ट्राभल एजेन्सी मार्फत पुग्ने गरेको तथा ठगीको जोखिमसमेत बढेकोले सरकार आफैंले तयारी थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

सरकारले हालसम्म मौसमी श्रमिक भनेर वैदेशिक रोजगारमा पठाउने व्यवस्था गरेको छैन । अर्यालका अनुसार मन्त्री परिषदबाट स्वीकृत भएर आउने बित्तिकै मौसमी श्रमिक पठाउन सुरू गरिने छ ।

‘मन्त्री परिषद्बाट स्वीकृत भएर आउने बित्तिकै हामी मौसमी श्रमिक पठाउन सुरू गर्छौं,’ उनले भने।
बेलायत, दक्षिण कोरिया तथा जर्मनीमा लगायत मुलुकमा मौसमी श्रमकिहरूको राम्रो माग रहेको पनि सचिव अर्यालले बताए।

‘खाडी तथा मलेसियाजस्ता मुलुकहरूमा एउटा श्रमिक दुई वर्ष खट्दा मुस्किलले १०/१२ लाख कमाउने अवस्था छ। त्यहाँ ६ महिनामै १०/१२ लाख कमाउन सकिने भनेपछि यो निकै राम्रो हो,’ उनले भने।

सरकारले पारिश्रमिक तथा अन्य सेवासुविधाको सुनिश्चितता गरेर मात्रै यस्ता श्रमिक पठाउने सचिव अर्यालको भनाई छ।
मौसमी श्रमिकका रूपमा जानेले निःशुल्क जान पाउने पनि उनले बताए।

‘हामी स्थानीय सरकारसँग पनि समन्वय गर्छौं। मौसमी श्रमिकका रूपमा जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नुपर्दैन,’ उनले भने। खासगरी मौसमी श्रमिकका रूपमा युवाहरू कृषि कामका लागि जाने गरेको पाइन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*