आज अर्जेन्टिना र फ्रान्स फाइनलमा भिड्दै, बिजेताले पाउँदैनन असलि ट्रफी

काठमाडौं । कतारमा जारी विश्वकप २०२२ को फाइनल खेल आज राति ८ः४५ बजे शुरु हुँदैछ। सो खेलमा दुई पटक विश्वकप विजेताहरु तेस्रो पटक उपाधि जित्न भिड्दैछन्।
कतारको लुसियल आइकनिक स्टेडियममा हुने सो फाइनल खेलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएशियालाई पराजित गरेको थियो भने फ्रान्सले मोरोक्कोलाई पराजित गरेको थियो।
दुबै प्रतिद्वन्द्वी दुई पटक विश्वकप विजेता
विश्वकपको इतिहासमा फ्रान्स र अर्जेन्टिना दुबैले दुई दुई पटक विश्वकप जितिसकेका छन्। फ्रान्सले सन् १९९८ र सन् २०१८ मा विश्वकप जितेको थियो। अर्जेन्टिनाले भने सन् १९७८ र सन् १९८६ मा विश्वकप जितेको थियो। यस बाहेक अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ गरी तीन पटक विश्वकपको फाइनलमा पुगिसकेको छ। यी विश्वकपमा अर्जेन्टिना उपविजेता भएको थियो। फ्रान्स सन् २००६ विश्वकपको उपविजेता बनेको थियो। यो फाइनल अर्जेन्टिनाको छैठौँ फाइनल खेल हो भने फ्रान्सको चौथो फाइनल हो।
यस अघि फ्रान्स र अर्जेन्टिना बीच कुल १२ खेल भइसकेको छ। जसमध्ये ६ खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको छ भने फ्रान्सले ३ खेलमा जित हासिल गरेको छ। यी दुई बीचको बाँकी ३ खेल बराबरीमा सकिएको छ।
गोल्डन बुटका दाबेदारहरु बीचको भिडन्त
यो फाइनल खेल ‘गोल्डन बुट’ का चार दाबेदार बीचको भिडन्त हो। गोल्डन बुटको प्रतिस्पर्धामा अर्जेन्टिनाका मेस्सी र फ्रान्सका एम्बाप्पे ५ गोलसहित शीर्ष स्थानमा छन्। त्यसैगरी, अर्जेन्टिनाका अल्भारेज र फ्रान्सका जिरुड ४ गोलसहित दोस्रो स्थानमा छन्। फाइनलको सो खेल अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको अन्तिम खेल हुने बताइएको छ।
विश्वकपमा अर्जेन्टिनाको प्रदर्शन
चालु विश्वकपमा अर्जेन्टिनाको पहिलो खेलमा साउदी अरेबियाले पराजित गरेको थियो। तर, त्यसपछि यस टिमले कुनै खेल हारेको छैन। उनले प्रि क्वाटरफाइनलमा अष्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो भने क्वाटरफाइनलमा नेदरल्याण्डलाई ४–३ ले पराजित गरेको थियो। त्यसैगरी, सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएशियालाई ३–० ले हराएको थियो।
विश्वकपमा फ्रान्सको प्रदर्शन
कतारमा जारी विश्वकप २०२२ को समूहचरणको तीन खेलमध्ये फ्रान्सले दुई खेलमा जित हासिल गरेको थियो भने एक खेलमा हार व्यहोरेको थियो। फ्रान्सले अष्ट्रेलिया र डेनमार्कलाई हराएको थियो भने ट्यूनेशियासँग पराजयको सामना गरेको थियो। फ्रान्सले प्रि क्वाटरफाइनलमा पोल्याण्डलाई ३–१ ले हराएको थियो भने क्वाटरफाइनलमा इङ्गल्याण्डलाई २–१ ले पराजित गरेको थियो। सेमिफाइनलमा मोरोक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको हो।
रेप्लिका ट्रफी
विजेताको ट्रफी दोहाको लुसेल रंगशालामा पुगिसकेको छ, जसका लागि आज दुवै टोली भिड्नेछन् । यो ट्रफी बाहेक, करोडौंको पुरस्कार राशि पनि छ, जुन विजेता टिमलाई दिइन्छ तर के तपाईलाई थाहा छ अहिले फिफा विश्वकपको ओरिजिनल ट्रफी विजेता टिमलाई प्रदान गरिदैन ।
२००५ मा एउटा नयाँ नियम बनाइएको थियो जस अन्तर्गत उपाधि जित्ने देसलाई मूल ट्रफी दिइँदैन। फाइनल जित्ने देसलाई छोटो समयका लागि मूल ट्रफी राख्ने अनुमति भए पनि त्यो तत्काल फिर्ता लिइन्छ। पुरस्कार समारोह पछि, विजेताले उक्त ट्रफी फिफा अधिकारीहरूलाई फिर्ता गर्नुपर्छ । त्यसको सट्टा उनिहरुलाइ डुप्लिकेट ट्रफी दिइन्छ, जुन ठ्याक्कै मूल जस्तै देखिन्छ । यसलाई रेप्लिका ट्रफी भनिन्छ ।
वास्तवमा यो ट्रफी (फिफा विश्वकप ट्रफी) दुई पटक चोरी भएको छ । एक पटक यो ट्रफी हराएपछि एउटा कुकुरले फेला पारेको थियो । ट्रफी एक ठाउँमा कागजमा बेरेर राखिएको थियो । सुरक्षाको हिसाबले रियल ट्रफीको सट्टा प्रतिकृति ट्रफी विजेता लाई प्रदान गरिन्छ । प्रतियोगिताको समयमा पनि प्रतिकृति ट्रफी राखिएको हुन्छ र फाइनलमा मात्र वास्तविक ट्रफी रंगशालामा ल्याइन्छ । विश्वकपको मूल ट्रफी स्विट्जरल्याण्डमा फिफाको मुख्यालयमा राखिएको हुन्छ ।
फाइनल खेलपछि विजेतालाई उत्सव मनाउनका लागि मात्र मूल ट्रफी दिइन्छ । यसको अर्थ आज फ्रान्स वा अर्जेन्टिनाले यो ट्रफी घर लान पाउने छैनन् । विजेतालाई दिइने डुप्लिकेट ट्रफी (प्रतिकृति) कांस्यबाट बनेको छ र यसमा सुनको परत लगाइएको छ ।
फिफा विश्वकपको मूल ट्रफी धेरैजसो फिफाको मुख्यालय जुरिचमै रहन्छ । यसलाइ फिफा विश्वकप यात्रा वा विश्वकप खेलको समयमा मात्र बाहिर निकालिन्छ । फुटबल विश्वकप सन् १९३० मा सुरु भएको थियो ।
त्यतिबेला विजेता टिमलाई दिइने ट्रफीको नाम जुल्स रिमेट ट्रफी थियो। जुल्स रिमेट ट्रफी १९७० सम्म च्याम्पियन टिमहरूलाई प्रदान गरिएको थियो। त्यसपछि विश्वकप ट्रफीलाई पुनः रिडिजाइन गरिएको थियो। नयाँ ट्रफी डिजाइन गर्ने जिम्मा इटालियन कलाकार सिल्भियो गजानियालाई दिइएको थियो । यो ट्रफी सन् १९७४ देखि प्रदान गर्न थालिएको हो, जसलाई फिफा विश्वकप ट्रफी भनिन्छ ।