बागमती पुलमा बेलिब्रिज जडान भएसँगै हेटाैँडा- काठमाण्डाैँ कान्ति लोकपथ सडक सुचारु
हेटौंडा । हेटौंडा–काठमाडौँलाई जोड्ने वैकल्पिक सडक कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा आएको छ। बागमती नदीको पुलमा बेलिब्रिज जडान गरी सडक सुचारु भएकाे कान्ति लोकपथ सडक आयोजनाले जनाएको छ।
वाग्मती नदीमा आएको बाढीले गत असोज ११ र १२ गते पुलको मकवानपुरतर्फको एउटा स्पान बगाएपछि अस्थायी माटो र बालुवाको पहुँच मार्गमार्फत सडक सञ्चालन गरिएको थियो। तर, वर्षायाम सुरु हुनुअघि बारम्बार बाढीले ती अस्थायी मार्ग बगाएपछि स्थायी रूपमा बेलिब्रिज जडान गर्ने निर्णय गरिएको हो।
आयोजनाकी प्रमुख रत्नलक्ष्मी बज्राचार्यका अनुसार, जेठ २१ गतेदेखि २४ गतेसम्म २४ घण्टा निरन्तर काम गरेर शनिबार राति बेलिब्रिज जडान सम्पन्न गरिएको हो। “बेलिब्रिज जडानसँगै आज बिहानदेखि सडक सञ्चालनमा आएको छ,” बज्राचार्यले भनिन्।
बेलिब्रिज जडानका लागि ३ वटा एक्स्काभेटर र करिब ५० जना प्राविधिक तथा मजदुर चार दिनदेखि खटिएका थिए। बेलिब्रिजको संरक्षणका लागि ग्याविन जाली लगाउने कार्य पनि जारी रहेको आयोजनाका इन्जिनियर साजन न्यौपानेले जानकारी दिए।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको वाग्मती गाउँपालिका–२ बगुवा जोड्ने पुलमा जडान गरिएको बेलिब्रिज २४.४ मिटर लम्बाइ र ५ मिटर चौडाइको छ। निर्माण कार्यका लागि ठेक्का प्राप्त कम्पनीलाई करीब साढे एक करोड रुपैयाँको लागतमा जिम्मा दिइएको हो।
कान्ति लोकपथ सञ्चालनमा आएसँगै हेटौंडा–काठमाडौँबीचको यात्रा पुनः सहज भएको छ। यस मार्गको पुनः सञ्चालनले यातायात, व्यापार तथा आवागमनमा महत्वपूर्ण राहत पुर्याउने अपेक्षा गरिएको छ।











