प्रचण्ड प्रधानमन्त्री हुने बित्तिकै चिनको नाका खुल्यो !
काठमाडौं । झण्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको छ ।
कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुनः सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको छ । भण्डारीका अनुसार नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु नाकाबाट निर्यात भएको छ ।
नेपालबाट बाँसको मुढा, तामाका भाँडा लगायतका वस्तु चीनतर्फ निर्यात भएको भण्डारीले बताए । कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो । अहिले नाकाबाट दिनहुँ १४ वटा चिनियाँ कन्टेनरमा सामान आयात भइरहेको छ ।
रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । नेपालबाट पस्मिना, गलैंचा, बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइंगमलगायत वस्तु निर्यात हुँदै आएको थियो ।याे नाकाबाट तयारी कपडा, स्याउ, जुत्ताचप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने बित्तिकै उक्त नाका खोलिएको भन्दै प्रधानमन्त्रीको प्रसंसा गर्न थालिएको छ ।







