नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडका नाममा एकीकृत कारोबार सुरु

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेगा बैङ्क लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार सुरु भएको घोषणा गर्नुभयो ।
दुई बैङ्क गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल सम्पत्ति रु चार खर्ब ७१ अर्ब र कूल पुँजी रु ५८ अर्ब पुगेको छ । त्यस्तै कूल निक्षेप रु तीन खर्ब ६० अर्ब र कूल कर्जा रु तीन खर्ब २९ अर्ब रहेको बैंकले जनाएको छ ।
मर्जरपछि यो बैङ्कको शाखा सञ्जाल दुई सय ९६, एक्सटेन्सन काउन्टर ५९, एटिएम दुई सय ७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैंकले जनाएको छ ।
दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहने गरी मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनुभएको छ ।
नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकको प्रतिनिधित्व रहने छ । त्यसमा इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रजन्य राजभण्डारी र कविकुमार टिब्रेवाला तथा मेगा बैंकका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहनुभएको छ ।
त्यसैगरी साविक नेपाल इन्भेष्टमेन्ट बैङ्कमा स्वतन्त्र सञ्चालकका रुपमा रहनुभएको मञ्जु बस्नेत अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालकका रुपमा रहनुहुनेछ ।
एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बैंकका अध्यक्ष पाँडेले यो मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैङ्कको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैङ्कलाई पनि मर्जरका लागि प्रेरित गरेको बताउनुभयो ।
त्यसैगरी मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैङ्किङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद एवं सकारात्मक कदम भएको बताउनुभयो । मर्जरपछि दुवै बैंकका असल परम्परा, ग्राहकको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षलाई अङ्गीकार गर्नुका साथै शेयर धनीलाई प्रतिफलमा न्यायोचित वृद्धि गर्दै जाने उहाँको भनाइ छ ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले लिएको नीतिअनुसार पछिल्लो समय बैङ्क तथा वित्तीय एकापसमा गाभ्ने÷गाभिने र प्राप्ति प्रक्रियामा गइरहेका छन् ।