रेडियो मकवानपुरको वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम शुरु

निरन्तर न्यूज
१६ माघ २०७९, सोमबार १७:४०

हेटौंडा । हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जको १३ औं वार्षिकोत्सवमा विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना हुने भएको छ ।

रेडियो माघ १६ गतेबाट १३ औं वर्षमा प्रवेश गर्दैछ । गत वर्षहरुमा झैं यस वर्षपनि विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउन लागिएको रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए ।

माघ १६ गतेदेखि २२ गतेसम्म विविध कार्यक्रमको आयोजना हुनेछ । १६ गते रेडियोमै सहिद दिवसको सन्दर्भमा रचना वाचन तथा अन्तरक्रिया, १७ गते श्रीमद् भागवत ज्ञान सञ्चार वृृद्धाश्रम हेटौंडा १७ मा खाद्यान्न सहयोग, १८ गते रेडियोकै प्राङ्गणमा रक्तदान, १९ गते बालअधिकार विषयक विद्यालयस्तरीय कविता प्रतियोगिता हुनेछ ।

यस्तै २० र २१ गते रेडियो मकवानपुर कप फुटसल प्रतियोगिता, २१ गते शनिबार मनहरी गाउँपालिका ४ मा बृहत निशुल्क स्वास्थ्य शिविर र २२ गत वार्षिकोत्सव समापन, दुईजनालाई सामुदायिक सम्मान र पुरस्कार वितरण कार्यक्रम हुनेछ ।

कविता प्रतियोगिताको विजेता विद्यार्थीले क्रमश: नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै रेडियो मकवानपुर कप फुटसलको विजेता र उपविजेतालाई नगदसहित पुरस्कारको व्यवस्था रहेको रेडियो मकवानपुरका प्रवन्ध निर्देशक आशिष दुलालले जानकारी दिए ।

रेडियोले वार्षिकोत्सवको अवसरमा दुईजनालाई जनही नगद १० हजार सहित सामुदायिक सम्मान र तीजको सन्दर्भमा दुई महिलालाई जनही नगद १० हजार रुपैयाँसहित जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ ।

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मकवानपुरको वार्षिकोत्सव समापन सहकारीको स्थापनाको दिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु