नेपाललाई दिएको सहयोग समयमै खर्च हुन नसकेकोमा विश्व बैंक र एडिबीको चिन्ता

निरन्तर न्यूज
२२ चैत्र २०७९, बुधबार १५:५०

काठमाडौं । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् ।

विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज मन्त्री महतसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न आग्रह गरेका छन् ।

“उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ, उहाँहरूको चाँसो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ”, आज बिहान एडिबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछि रासससँग प्रतिक्रिया दिँदै अर्थमन्त्री महतले भने, “आयोजनाको जग्गा अधिग्रहण (साइट क्लियरेन्स) समयमा नभएर समस्या भएको छ, त्यसकारण ठेक्का प्रक्रिया अघि बढ्न नसकेको र कामले गति लिन सकेको छैन भन्ने उहाँहरुको चासो छ ।”

छलफलका क्रममा नयाँ विकास आयोजना र कार्यक्रमबारे पनि छलफल भएको उनले बताए । “उहाँहरूले विभिन्न क्षेत्रमा सहयोग गर्न चाहन्छौं भन्नुभएको छ, एसियाली विकास बैंकले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैंकले माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा चासो देखाइरहेका छन्, त्यस्तै सडक आयोजनाहरुमा पनि बजेटरी सहयोगका लागि उनीहरुको चासो छ”, अर्थमन्त्री महतले भने ।

नेपालले अनुदान र सहुलियतपूर्ण ऋणलाई बढी प्राथमिकता दिनेबारे ती विकास साझेदारलाई आफुले जानकारी गराएको पनि मन्त्री महतको भनाइ छ । नेपालको समग्र आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे पनि विश्व बैंक र एडिबीले चासो देखाएका छन् ।

तात्कालिन आर्थिक समस्या र सरकारको प्राथमिकताबारे अर्थमन्त्रीसँग चासो राखेका थिए । अर्थतन्त्रमा देखिएका समस्या समाधान र मुख्यगरी खर्च गर्ने क्षमतामा देखिएको समस्यालाई बिस्तारै हटाउँदै जानेबारे प्रतिवद्ध रहेको अर्थमन्त्री महतले बताए ।

अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै महतले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता सङ्गठनहरु, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श थालेका छन् । तात्कालिन अवस्थामा अर्थतन्त्रमा खस्किएको मनोबल उकास्नु आफ्नो पहिलो काम हुने पनि उनले बताउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*