बजेट पारित हुन दिन्नौं : एमाले उपाध्यक्ष नेम्वाङ
काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारित हुन नदिने बताएका छन् ।
पार्टीका मधेस प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिन शनिबार जनकपुर पुगेका नेम्वाङले सरकारले ल्याएको बजेट भेद्भावपूर्ण रहेको भन्दै संसद्बाट कुनै पनि हालतमा पारित हुन नदिने बताएका हुन् । उनले भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिनेगरी भेद्भावपूर्ण रुपमा गरिएको बजेटको समर्थन गर्न नसकिने बताए ।
‘भौतिक मन्त्रालयमा ५१ प्रतिशत झन्डै ५ अर्बको बजेट । त्यसमा ३ अर्बमात्रै थियो रे । माग्दा अर्थमन्त्रीले उदारतापूर्वक ५ अर्ब पुर्याइदिनुभयो रे । के भयो यो भनेको त ५१ प्रतिशत ४ जिल्लामा छ ।’ उनले भने, यो बजेट देशका लागि हो, यसरी देशका लागि बजेट बनाइन्छ । संघीय संसद्मा सत्तापक्षकै सांसदहरुले बोलेको सुन्दा सत्तापक्ष कि प्रतिपक्ष हो थाहा हुँदैन । भेदभावविरुद्धको आगो त्यहाँ छ । यो बजेट पास गर्न दिइँदैन ।’
उपाध्यक्ष नेम्वाङले सरकारले दुई दिनपछि (असार ३) गतेबाट अनिवार्य अवकाशमा जान लागेका कर्मचारीलाई मुख्यसचिव बनाउने र कार्यकाल बाँकी रहेका मुख्यसचिवलाई पदबाट राजीनामा दिन बाध्य बनाउने काम गरेको बताए । उनले मुख्यसचिवलाई सुरक्षा परिषद्मा लगेर थन्क्याउनु देशको रक्षा र विकासका लागि हुन नसक्ने दाबी गरे ।
उपाध्यक्ष नेम्वाङले वास्तविक व्यक्तिहरुले नागरिकता पाउन ढिलाइ गर्नु नहुने बताए । नागरिकताको विषय टुंगोमा पुर्याउने नाममा संविधान र नियमभन्दा पर जान नहुने पनि उनले बताए ।







