आजको संसद: प्रधानमन्त्रीले जवाफ दिने, बजेट पारितका लागि पेस गरिने कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आज बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ ।
११ बजे सुरुहुने बैठकको सुरुमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
त्यसपछि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
अन्तिममा अर्थ मन्त्री डा। प्रकाश शरण महतले “विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उनले “आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव, “आर्थिक विधेयक, २०८०” माथि दफावार छलफलको लागि दिन तोकिने र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बजेट आजै पास गर्ने तयारीका साथ सत्तारुढ दलहरूले आ आफ्नो पार्टीमा ह्विप लगाएका छन् ।







