देशभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ, रोपाइँ कम हुनुमा लम्पी स्कीनको समेत प्रभाव
काठमाडौं । मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ भएको छ ।
मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्याङ्कअनुसार गत वर्ष असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ भएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिएको राष्ट्रि समाचार समितिले जनाएको छ । देशभर १३ लाख ५७ हजार हेक्टरमध्ये अहिलेसम्म सात लाख १८ हजार हेक्टरमा रोपाइँ भएको छ ।
मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ थोेरै प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
लम्पी स्कीन रोगबाट मुख्य गरी गोरु सङ्क्रमित हुँदा रोपाइँमा असर परेको छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ । पशु सेवा विभागको पछिल्लो विवरणअनुसार देशभर ७ लाख ६४ हजार भन्दा धेरै पशु चौपायामा लम्पी स्किन रोग देखिएको छ । सङक्रमितमध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । झण्डै २७ हजार पशु मरेका छन् । अहिले २ लाख ४४ हजारभन्दा धेरै पशुमा रोगको सङक्रमण छ ।
विस्तारै मनसुन सक्रिय, रासायनिक मलको उपलब्धता सुनिश्चित र लम्पी स्किन रोगको प्रभाव कम हुँदै गएको खण्डमा रोपाइँँको प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा छ । साउनको दोस्रो हप्तासम्ममा ९० प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयको अनुमान छ । यसवर्ष मधेस प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको थियो । सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशेको पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता छ ।
विस्तारै मनसुन सक्रिय, रासायनिक मलको उपलब्धता सुनिश्चित र लम्पी स्किन रोगको प्रभाव कम हुँदै गएको खण्डमा रोपाइँँको प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ । साझापाेष्टबाट ।







