सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाेले सुन समातियो: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातिएको दाबी गरेका छन् ।
सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा सुन बरामदबारे जस लिन खोजेका हुन् । भन्सारमा हुने अनियमितता कम गर्न यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिंदा सुन समातिएको उनले बताए ।
सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण सुन समातिएको दाबी गर्दै उनले त्यो आफूले गरेको पत्रकार सम्मेलनमा पटक-पटक दोहोर्याए । ‘भन्सारमा कतिपय कुराहरुलाई अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो,’ उनले भने।
उनले सुन प्रकरणमा जरैसम्म पुग्नेगरी अनुसन्धान जारी रहेको बताए। भन्सारमा अवैध गतिविधि हुन नदिन आधुनिक मेसिन जडानदेखि त्यहाँ रहेका मेसिन अपडेट र कर्मचारीहरूलाई चुस्त बनाइने काम भइरहेको उनले बताए।
‘कर्मचारीहरुमा उदासिनता भएको भए कारबाही हुन्छ, भइसकेको पनि छ । यसमा पारदर्शी ढंगबाट अनुसन्धान भइ कारबाही हुन्छ । राज्य संयन्त्र गम्भीर छ,’ उनले भने।