सुनकाण्डपछि फेरिए विमानस्थल भन्सारका प्रमुख
काठमाडौं । सरकारले अर्थमन्त्रालयका सह–सचिव टोकराज पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुख कार्यालयको प्रमुख बनाएको छ । एक क्विन्टल सुन तस्करीपछि भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो ।
निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए। अर्थमन्त्री डा. महतको सचिवालयले पाण्डेलाई विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी दिइएको पुष्टि गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा छन्। मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भइसकेर १०० केजी सुन भित्रिँदा भन्सार प्रमुख पोखरेल बिदामा थिए। बिदामा रहेर हाल स्वास्थ्योपचारका क्रममा रहेका पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।







