अबदेखि नेपाली गाडीलाई रक्सौल जान लिनु पर्दैन पास

निरन्तर न्यूज
१७ श्रावण २०८०, बुधबार २०:४५

वीरगंज । वीरगन्जबाट सीमावर्ती भारतीय शहर रक्सौल प्रवेश गर्न चार पाङग्रे (चक्के) गाडीलाई भारतीय महावाणिज्य दूतावासबाट अब विशेष पास नलिनुपर्ने भएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधबार भारत सरकारको निकायसंग पहल गरे पश्चात रक्सौल बजारमा नेपाली सवारीसाधन लग्न विशेष पास लिनुपर्ने प्रावधान हटेको हो । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक समेत रहेका सांसद यादव र जसपाका केन्द्रीय सदस्य समेत रहेका मेयर सिंहसहितको टोलीले बुधबार सीमावर्र्ती भारतीय शहर रक्सौलस्थित भन्सार कार्यालयमा पुगेर त्यहाँका अधिकारीहरूलाई भेटेर पास लिने नियम हटाउन छलफल गरेका थिए ।

छलफलका क्रममा पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले पासको प्रावधानले नेपालीहरूलाई सास्ती हुने बताउँदै त्यसलाई तत्काल फिर्ता लिन आग्रह गरेका थिए । उनले भारतीय सहर रक्सौलसँग वीरगन्जबासीको सम्बन्ध व्यावसायिक मात्र नभई पारिवारिक र धार्मिकसमेत रहेकोले यस्तो प्रावधानले दुवै देश बिचको सम्बन्धमाथि नै असर पर्ने बताएका थिए ।

त्यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि पास लिनुपर्ने प्रावधान झन्झटिलो र अव्यवहारिक देखिएको बताउँदै त्यसलाई फिर्ता लिन भारतीय भन्सार कार्यालयका अधिकारीहरूसँग आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*