विद्युत प्राधिकरणले सर्वसाधारणका लागि शेयर जारी गर्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ । प्राधिकरणका निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरी शेयर निष्काशन गर्न लागेको जानकारी दिएका हुन् ।
उनका अनुसार सर्वसाधारणलाई सेयर जारी गर्न प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको छ । उनले प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब भन्दा धेरै फाइदा कमाएको जानकारी समेत दिए ।
तर यो अघिल्लो वर्षको भन्दा केही कम हो ।आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा १३ अर्ब ३७ करोड पुगेको थियो । तर, त्यो भन्दा अघिल्लो वर्ष प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ मात्रै थियो ।
प्राधिकरणले मुख्यत विद्युत बिक्रीबाट आम्दानी गर्दै आएको छ । घिसिङका अनुसार प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ । घिसिङले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने योजना रहेको समेत सुनाए । उनले भने, ‘एउटा हरित हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने काम अघि बढेको छ ।’
हरित हाइड्रोजनले अन्य जैविक ऊर्जाको तुलनामा न्यून कार्बन उत्सर्जन गर्छ । यस्तै, यसले निकाल्ने हुने शक्तिसमेत अधिक हुन्छ । प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले बोलिरहँदा पटक-पटक बिजुली गएको थियो । अहिले सबैतिर बिजुली जाने समस्या छ । घिसिङले सिस्टममा डिस्ट्रब भएकाले बिजुली गएको भन्दै बचाउ गरे ।







