हेटौंडामा सुनका गरगहना चोरी गर्ने गिरोह पक्राउ
हेटौंडा । हेटौंडामा सुनका गरगहना तथा नगद रकम चोरी गर्ने ४ जना गिरोह पक्राउ परेका छन् । यही साउन ३० गते हेटौडा उपमहानगरपालिका वडा नम्बर–९ लामसुरेधाप स्थित सुशिला साउदको घरबाट नगद र गरगहना चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।
साउदको घरबाट नगद ३० हजार, सुनको सिक्री डेढ तोलाको १ थान, सुनको बाला १ तोलाको १ थान, सुनको चन्द्र हार १ तोलाको १ थान, सुनको टप ४ आनाको १ जोडी, सुनको मुन्द्र २ आनाको १ जोडी र घडी १ थान चोरी गर्ने चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालले बताउनुभयो ।
उनीहरुले योजना बद्ध रुपमा नगद र गरगहना समेत गरेर ५ लाख ३२ हजार रुपैयाँ बराबरको चोरी गरेका हुन् । सिन्धुपाल्चोक जिल्लाबाट चोरी गर्नका लागि हेटौंडा आएर चोरीमा संलग्न सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर–७ बस्ने २८ वर्षिय भिमलाल लामा, २८ वर्षिय प्रदिप तामाङ, २९ वर्षिय आकाश तामाङ र चोरी भएको सुनका गर गहनाहरु खरिद गर्ने सोही गाउँ घर भई हाल काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–८ बस्ने रितु सुन पसल संचालन गरी बस्ने ३१ वर्षिय राजेन्द्र रसाईलीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
उनीहरुलाई काठमाण्डौको बिभिन्न वडाहरुबाट पक्राउ गरी मकवानपुरमा ल्याई अदालतबाट ६ दिनको म्याद थप गरी चोरी तथा डाँका सम्बन्धि कसुरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी टेक बहादुर कार्कीले बताउनुभयो ।








