प्रहरी नागरिक मैत्री बन्नु पर्ने : आन्तरिक मन्त्रि श्रेष्ठ

निरन्तर न्यूज
१४ कार्तिक २०८०, मंगलवार ०९:१७

सिन्धुपाल्चोक । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रहरीहरु नागरिक मैत्री र नागरिक प्रहरी मैत्री बन्न पर्ने बताउनुभएकाे छ ।

सिन्धुपाल्चोकमा निर्मित प्रहरी चौकी ढाँडेको उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका श्रेष्ठले प्रहरी राज्य भएकाेले नागरिक मैत्री बन्न पर्ने र नागरिकहरु राज्यप्रति उत्तरदायी बन्न पर्ने बताउनुभएकाे छ ।

मन्त्री श्रेष्ठले नेपाल प्रहरीलाई शान्ति सुरक्षा, अमन चयन कायम गर्न एवम् अपराध अनुसन्धान तथा रोकथामका लागि निरन्तर सहयोग गर्न तयार रहेको र आगामी दिनहरुमा पनि बिभिन्न प्राविधिक क्षेत्रमा समेत सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरी पुरुष महिला बराबरी भएतापिन महिलालाई प्राथमिकतामा राखेर सेवा प्रभाव गर्न पर्नेमा मन्त्री श्रेष्ठले जाेड दिनुभयाे ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभाका सदस्यहरु सरल सहयात्री पौडेल, अमृत नेपाल, कुमारी तामाङ, आन्तरिक मामिला तथा कानून सचिव ध्रुव गैडा, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याम्वो, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापा र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा, इ. ईश्वर थापालगायतको सहभागीता रहेको थियो ।

भवन निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई प्रशंसा–पत्र सहित सम्मान पनि गरिएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको ३ करोड ९ लाख २६ हजार रूपैयाँ आर्थिक सहयोगमा नव–निर्मित कार्यालय, ब्यारेक तथा मेश निर्माण गरिएकाे हो ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु