प्रधानमन्त्री प्रचण्डद्वारा सर्वदलीय बैठक आव्हान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् ।
आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुनेछ ।
सरकारले एकद्वार प्रणालीबाट राहत सामग्री वितरणको काम सुरु गरेको छ भने भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ ।
यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते भएका छन् । यसैगरी दुवै जिल्लामा गरी १७ हजार ७ सय बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
शुक्रवारको भुकम्पपछि पनि लगातार परकम्प गैरहेका छन । र, त्यसबाट केही घर भत्किनुका साथै थप १३ जना घाईते भएका छन् । यसले निकै त्रास बढेको छ ।