कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएका सिरोहियालाई चिकित्सकले रेफर गरेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
सिरोहियालाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकहरूले ब्रिफिङ गरेका छन् । उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा पठाइएको छ ।
रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले नागरिकता कसुरमा १६ वैशाखमा धनुषा प्रहरीमा दिएको जाहेरीको आधारमा सिरोहियालाई गत जेठ ८ गते काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट प्रहरीले पक्राउ गरेर धनुषा लगिएको थियो । सोमबार उनलाई तेस्रोपटक धनुषा जिल्ला अदालतले थप ३ दिनको म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ ।