अबैध रुपमा माटोको कारोबार आशंकामा हेटाैँडामा ट्रक नियन्त्रण

निरन्तर न्यूज
३ असार २०८१, आईतवार ०८:०७

हेटौंडा । सिमेन्टको क्लिङकर उत्पादनका लागि प्रयोग हुने आइरन सहितको माटोको कारोबार अबैध रुपमा हुने गरेको पाईएको छ । पश्चिम नेपालमा रहेका सिमेन्ट उद्योगमा प्रयोग हुने गरी मकवानपुरको बकैया गाउँपालिका–४ स्वबी बाट बिगत चार महिना देखि अबैध रुपमा माटोको कारोबार हुने गरेको आशंका गरिएको हो ।

बकैया गाउँपालिकाबाट हेटौंडा उपमहानगरपालिका–१७ हटियाहुँदै पश्चिम नेपालको दाङ र भैरहवा लैजाने क्रममा हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएसँगै कारोबार बाहिरीएको हो । कारोबारका क्रममा प्रयोग हुने राजश्व रसिद नपाइएको र पालिकाबाट काटिने रसिद बिनै कार्यक्षेत्र पार गरेका क्रममा नगर प्रहरीको टोलीले सुक्रवार राति करिब १२ बजे फेला पारेसँगै नियन्त्रणमा लिएको उपमहानगरको राजश्व शाखाले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका राजश्व शाखाका प्रमुख जगन्नाथ सापकोटाका अनुसार कारोबारको बिषयमा बुझने क्रम रहेको बताए । हेर्दा अनौंठो प्रकारको माटो छ के हो हामि जानकारी लिँदै छौं उनले भने । प्रारम्भिक चरणमा सिमेन्ट उद्योगका लागि पठाउँन लागेको भन्ने बुझेका छौं, राजश्व चुहावटको अवस्था देखिएकाले नियन्त्रणमा लिएको उनले बताए ।
बकैयाको स्वबी, कालिदमार क्षेत्रबाट उत्खनन् गरी निकासी पैठारीको काम गर्दै आएको काठमाण्डौंको ट्युजर ल्याण्ड कम्पनीले पश्चिम नेपालको घोराई, अर्धाखाँचि सिमेन्टका लागि पठाउँन लागेको जनाएको छ । राजश्व नकाटिएको अवस्थामा रहेका १५ वटा बिभिन्न मोडलका ट्रक उपमहानगरको टोलिले नियन्त्रणमा लिएर राखेको छ । ट्रकमा लोड भएको माटो चुम्बकमा टाँसिने गरेको छ ।

नियन्त्रणमा रहेका १४ चक्केमा १६, १२ चक्केमा १४ र १० चक्केमा १२ घनमिटर बकसाईड आइरन माटो रहेको कम्पनीका सुन्दर रेग्मिले बताए । उनले पालिकामा राजश्व जम्मा गरेका छौं, तोकिएको ठाउँ भन्दा बाहिर आएर रोकिएको अवस्थामा उपमहानगरले नियन्त्रणमा लिएको बताए । कम्पनिले ट्रक अनुसार १२ चक्केको ७ हजार ४ सय, १० चक्केको ६ हजार ४ सय रुपियाँ माटो लोड भएपनि ढुङ्गाको राजश्व काट्ने गरेको बताइएको छ ।

नियन्त्रणमा रहेका ट्रकमा डोल भएको आइरन सहितको माटो ९ रुपियाँ क्युफुट दरले राजश्व हिसाब भएको छ । अहिले ट्रकमा ३५ ग्रेड सम्मको माटो लोड भई पश्चिम नेपाल जान लागेको कम्पनीका रेग्मीले जानकारी दिए । बकैयाको सोहि ठाउँबाट हेटौंडामा रहेको ऋद्धिसिद्धि सिमेन्टले पनि सोहि मापदण्डको माटो क्लिङकर उत्पादनको लागि ल्याउँने गरेको बताइएको छ । नगर प्रहरीको टोलीले नियन्त्रण्मा लिएको १५ ट्रकलाई उपमहानगरको आर्थिक ऐन अनुसार प्रतिटिप १८ हजारका दरले २ लाख ७० हजार रुपियाँ राजश्व संकलन गरी पठाउँने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*