अदालतमै वकिलबाट प्रहरी कुटिएको घटनामा कर्मचारीले भने ‘वकिलबाट अदालतकै मर्यादामा प्रहार’

निरन्तर न्यूज
२७ असार २०८१, बुधबार ०८:५३

काठमाडौं । असार २३ गते आइतबार काठमाडौँ जिल्ला अदालतको गेटमा प्रहरी र कानुन व्यवसायी कुटपिटको विषयमा जिल्ला अदालतका कर्मचारीले कानुन व्यवसायीबाट भएको अभद्र व्यवहार र कुटपिट कुनै सुरक्षाकर्मीमाथि मात्रै नभएर अदालतकै मर्यादामाथि प्रहार भएको टिप्पणी गरेको छ । असार २५ गते मङ्गलवार अदालतमा कार्यरत कर्मचारीको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मी कुटिएको विषयलाई कानुन व्यवसायी थापाले अतिरञ्जित बनाएको र तरलता सिर्जना गरी धमिलो पानीमा माछा मार्ने काम भएको समेत आरोप लगाएको छ ।

विज्ञप्तिमा कानुन व्यवसायी अधिवक्ता नानी लक्ष्मी थापाले ‘सिपाही भएर बढ्ता बोल्ने’ भन्दै अपशब्द प्रयोग गरी ड्युटीमा खटिएका राष्ट्रसेवक कर्मचारीप्रति अभद्र व्यवहार गरेको आरोप लगाएको छ । त्यस्तै थापाको व्यवहारले एक सुरक्षाकर्मीमाथि मात्रै प्रहार भएको नभई अदालतकै मर्यादामाथि प्रहार भएको जिकिरसमेत गरेको छ ।

विज्ञप्तिमा सिसिटिभी फुटेजको अध्ययन गरी दोषी देखिएको व्यक्तिमाथि दिइएको जाहेरी दर्ता गरी कानुनी कारबाही अगाडि बढाउन र सुरक्षाकर्मीमाथि आक्रमण गरेको कार्य आपराधिक कार्य भएको निष्कर्षसमेत निकालेको छ ।

काठमाडौँ जिल्ला अदालत कर्मचारी परिवारबाट जारी विज्ञप्तिमा भनिएको छ,
‘न्यायपालिका जस्तो संवेदनशील क्षेत्रमा दिनरात अहोरात्र खट्ने सुरक्षाकर्मीलाई गालीगलौज गर्दै बर्दीधारी प्रहरीमाथि हातपात गरी उल्टै सो विषयलाई अतिरञ्जित गरी अदालतमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको मनोबल गिराउने र परिस्थितिलाई विषयान्तर गरी तरलता निर्माण गर्ने र धमिलो पानीमा माछा मार्ने गरी विकसित पछिल्ला घटनाक्रमहरूले अदालतको मर्यादामा प्रहार गरिएको अनुभव गरेका छौँ । अदालतको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्य पालनाको सिलसिलामा हातपात गरी समग्र कर्मचारी र सुरक्षाकर्मीको मनोबल घटाउने मनसायले गरिएको आपराधिक कार्यप्रति घोर भर्त्सना गर्दै यस्तो गल्ती/आपराधिक कार्यमा संलग्न व्यक्ति उपर जाहेरी दरखास्त दर्ता गरी कानुनी कारबाही अघि बढाउन अनुरोध गर्दछौँ । साथै, यस घटना र सोबाट विकसित पछिल्ला घटनाक्रमप्रति संयमता अपनाउन सम्पूर्ण पक्षमा ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

यसअघि सोमबार साँझ मात्रै काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनले एक सन्तुलित विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र दोषीउपर कारबाहीको माग गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*