महामारीका फैलन नदिन स्वास्थ्य मन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागमा हैजा तथा डेङ्गीको सङ्क्रमण देखिन थालेपछि यसलाई महामारीका रुपमा बढ्न नदिन काम थालेको छ ।
मन्त्री प्रदीप पौडेलले डेङ्गी तथा हैजाका बिरामी बढ्न थालेपछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन्। त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालीन कदम अघि बढाएको हो। मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालित भएर काम गरिरहेको छ।
टोलीहरूले बिरामीको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिमा लक्षणको निगरानी गरिरहेका छन्। यसले हैजा थप फैलन नदिन र सङ्क्रमण देखिएको स्थानमा पनि नियन्त्रण गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ। पानीका कारण देखिने रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित स्थानका जिम्मेवार सरोकारवालासँग छलफल गरेर तत्काल काम थालिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
आगामी दिनमा थप समस्या आउन नदिन केन्द्रीय, प्रदेश तथा स्थानीय तहमा र खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने योजना बनाएको मन्त्रालयले राष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने तयार गरिरहेको छ।
डेङ्गी फैल्न नदिन लामखुट्टे नियन्त्रणमा जोड
देशका विभिन्न भागमा लामखुट्टेका कारण फैलिएको डेङ्गी प्रकोप नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणमा प्राथमिकता दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यसका लागि सातै प्रदेशमा डेङ्गी परीक्षणका लागि प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले उल्लेख गरेको छ।
डेङ्गी नियन्त्रणका लागि विनियोजित रु १० करोडबाट प्रदेशसँगै स्थानीय तहमा समेत लामखुट्टेको बासस्थान नियन्त्रण अभियानलाई तीव्रता दिइएको मन्त्रालयले उल्लेख गरेको छ। प्रशिक्षण दिएका एक हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियन्त्रण एवं निदानमा परिचालन गरेको मन्त्रालयले सङ्घीय अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजमा डेङ्गी नियन्त्रणका लागि सम्पर्क व्यक्ति तोकेर समस्या देखिएमा तत्काल रोकथामको कदम चाल्ने प्रबन्ध गरेको जनाएको छ।