हेटौंडा अस्पतालमा पुराना कर्मचारीहरुले लगाए ताला

निरन्तर न्यूज
१ भाद्र २०८१, शनिबार २१:४७

हेटाैँडा । हेटौंडा अस्पतालमा तालाबन्दी गरिएको छ । शुक्रवार अस्पतालका पुराना कर्मचारीहरूले प्रशासन प्रमुख र अस्पतालका निमित्त निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका हुन।

अस्पतालका पुराना कर्मचारी जयराम रायमाझी लगायतले तालाबन्दीले गरेको निमित्त निर्देशक श्रीधर आर्यालले जानकारी दिए । ‘रायमाझी लगायतका ६/७ को समुहले तालाबन्दी गरेका हुन’ अर्यालले भने ।

आर्यालका अनुसार, बिहीबार अस्पतालले अन्तरवार्तामा सफल उम्मेदवारहरूको नामावली प्रकाशन गरेको थियो। सोही नतिजाप्रति असन्तुष्ट रहेको जनाउदै रायमाझीको समूहले तालाबन्दी गरेको बताइएको छ ।

राईमाझीले भने आफूहरूलाई नियोजित रूपमा अस्पतालबाट निकाल्न खोजिएको आरोप लगाएका छन् । उनले नयाँ कर्मचारी भर्नाका लागि भएको अन्तरवार्ता पछि प्रकाशित नतिजाप्रति असन्तुष्ट रहेको बताए ।

उनका अनुसार उनीहरू साढे दुई वर्षदेखि अस्पतालमा कार्यरत छन्। ‘अहिले आएर नयाँ कर्मचारी भर्ना भन्दै अन्तरवार्ताबाट नियोजित रूपमा हामीलाई हटाउने काम भएको छ’ उनले भने। अस्पतालले प्रकाशित सूचना सच्याइनु पर्ने तथा हाल काम गरिरहेका कर्मचारीहरूलाई प्राथमिकता दिइनु पर्ने भन्दै तालाबन्दी गरिएको उनले जानकारी दिए।

प्रगतिशील स्वास्थ्यकर्मी संघठन जिल्ला अध्यक्ष समेत रहेका रायमाझीले आफूहरूको मागको सुनुवाइ हुनुपर्ने र कर्मचारी भर्ना प्रक्रिया रद्द नभएसम्म चरणबद्ध आन्दोलनमा जारी रहने बताए ।

तर अस्पताल प्रशासनले प्रक्रिया अनुसार नै नतिजा सार्वजनिक गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*