बेलुन महोत्सव : पोखराको पर्यटनमा रौनकता थप

निरन्तर न्यूज
१० पुष २०८१, बुधबार २०:२१

पोखरा । नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल पर्यटनको राजधानी पोखरामा मंगलबारदेखि सुरु भएको छ । पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्, बेलुन नेपाल प्रालिसमेतले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा फेस्टिभल आयोजना गरेका हुन् ।

फेवाताल किनार फेवा फाँटमा ९–१७ पुससम्म फेस्टिभलमा नेपालसहित २० देशका बेलुन कम्पनीहरुले भाग लिएका छन् । फेस्टिभल पामे क्षेत्रको लौरूकदेखि चंखपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए । बिहान ६ देखि ९ बजेसम्म ब्यावसायिक उडान हुनेछ भने साँझ विविध कार्यक्रम हुनेछ । साँझ ४ देखि ६ बजेसम्म विभ्निन देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटले हट एयर बेलुनको उडान भर्ने छन् । राति ७ दखि ८ बजेसम्म बेलुन नाइट ग्लो तथा सांगीतिक कार्यक्रम हुने छन् ।

महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फूड स्टल, मेला र विभिन्न खेल समेत हुनेछन् । महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कविता नेपाली, काटुन क्रूज, बेली नृत्य लगायत स्थानीय कलाकार र व्यान्डले सांगीतिक प्रस्तुति दिने छन् ।

महोत्सवमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य आयोजकको छ । करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन् । हट एयर बेलुनमा करिब ४० मिनेटको उडान हुनेछ । उडानमा मनोरम हिमशृङ्खलासहित, पोखराको दृश्यावलोकन एवं सूर्योदय र सूर्यास्त देख्न सकिनेछ ।

महोत्सव विशेष आकर्षणरुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान, पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँको सुन्दर दृश्य, नाइट बेलुन ग्लो, बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाडौंको कुमारी नृत्य र बर्ज योगीनी लगायतका कार्यक्रम प्रस्तुत हुनेछन् ।

२४–२६ डिसेम्बरसम्म विभिन्न व्याण्डसहितको प्रस्तुति हुनेछ भने २७ देखि ३१ डिसेम्बरसम्म बेलुन उडान तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ । सन् २०२५ को पहिलो दिन १ जनवरीमा सांगीतिक कार्यक्रम प्रस्तुतिसहित कार्यक्रम समापन हुनेछ । साथै महोत्सवमा विभिन्न खानाका परिकारसहितका अन्य केही स्टलहरु समेत रहने छन् ।

उक्त महोत्सवको स्थानीय संयोजक फेवा क्लब हो । बिवाईडीको मुख्य प्रायोजनमा हुने महोत्सव सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उघोग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार प्रवद्र्धकको रुपमा सहयोग गरेका छन् । क्रिजम्याटिक इन्टरटेन्मेन्ट महोत्सवको प्रमुख इभेन्ट व्यवस्थापक हो । उद्घाटनअघि भकुण्डेदेखि विभिन्न जनजातिको भेषभूषासहितको झाँकीसमेत निकालिएको थियो ।

फेस्टिभलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

पोखरामा सन् २०१८ देखि व्यावसायिकरुपमा हट एयर बेलुन संचालन हुदै आएको थियो । महोत्सवको ब्रान्ड एम्बासडर राजेश हमाल र प्रियंका कार्की हुन् । पोखरा र यस आसपासका सम्भावित विभिन्न साहसिक खेलकुदको पहिचानसहित पोखरालाई साँच्चिकै साहसिक खेलकुदको गन्तव्य बनाउन यस कार्यकमले थप टेवा पुग्ने परिषद् अध्यक्ष पहारीले बताए । महोत्सवस्थलसम्म जानआउका लागि लेकसाइड डिहिकोपाटनबाट निःशुल्क सटल बसको व्यवस्था मिलाइएको छ ।

महोत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका साथै नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने आयोजकको विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*