निर्माण थालेको एक वर्षमा सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’

निरन्तर न्यूज
११ माघ २०८१, शुक्रबार १९:५५

काठमाडौं । निर्माण थालेको एक वर्षमा सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् ।​

सिद्धबाबा सुरुङ गत वर्ष माघ ४ गदेखि खन्न थालिएको थियो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका–३ कुहिरेभीरमा निर्माणाधीन सुरुङले पहाडलाई तराईसँग जोड्ने छ ।

सिद्धबाबा सुरुङ मार्गको ’ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको बताएका छन्।

प्रधानमन्त्री ओली स्थलगतरूपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरूपमा सहभागी भएका हुन्।

प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना सावित हुने बताउँदै यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिए।

यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताए।

‘सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो,’ उनले भने, ‘अब नेपाल हिजोझैँ दुर्गम भन्ने रहेन। हामीले यसलाई अझ सुगम बनाउनुछ। मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ। हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ हाम्रो देश। देशलाई फाइदा हुने कुराहरूमा सरकारको ध्यान जानेछ। हाम्रा प्रयासहरू यसैतर्फ केन्द्रित छन्।’

कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक बर्खा होस् या हिउँद सधैँ पहिरोको उच्च जोखिममा पर्छ । सडकदेखि तल तिनाउ नदीतर्फ अप्ठ्यारो भिरसहितको छाँगो र माथितर्फ अग्लो चट्टानसहितको पहाड भएकोले बर्खामा मात्र होइन हिउँदमा समेत सुक्खा पहिरोको उत्तिकै जोखिम हुन्छ । त्यसैले यहाँ सुरुङ मार्ग बनाइएको हो ।

सुरुङमार्ग निर्माणको काम ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार २०८३ चैतभित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*