मकवानपुरको पहिलो महिला सिडिओमा स्किम श्रेष्ठ

हेटौंडा। मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्किम श्रेष्ठ आउने भएकी छिन्। नवलपरासी पश्चिमकी सिडिओ रहेकी श्रेष्ठ मकवानपुरको सिडिओ भएर आउन लागेकी हुन्।
सरकारले आज गरेको २ जना (सिडिओ) को सरुवामा नवलपरासीपश्चिमबाट श्रेष्ठ मकवानपुर आउने लागेकी हुन्।
मकवानपुरका प्रजिअ तिर्थराज चिलुवालले सरुवा भएसंगै मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारीले कार्यभार समाल्दै आएका छन्। श्रेष्ठ पहिलो महिला सिडिओ हुन जसले मकवानपुरको प्रजिअको नेतृत्व समाल्ने छिन् ।
२०६९ असोजमा आदिवासी/जनजाति कोटाबाट महिला विकास अधिकृत बनेकी स्किम २०७७ साउन महिला कोटाबाट सीधै सहसचिव बन्न सफल भएकी हुन्। धनकुटा, लेगुवाका रामकृष्ण श्रेष्ठसँग बैबाहिक बन्धनमा बाँधिएकी स्किम माईती जिल्लाको सिडिओ बन्न सफल भएकी हुन्।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संघीय मामिला महाशाखा प्रमुख हुँदै स्किम गृह मन्त्रालय छिरेकी थिइन्। गृहमा छिर्नेबित्तिकै विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भएकी उनी केही समयपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिडिओ बनेर गएकी थिइन्। नवलपरासी पश्चिमबाट उनी माईती जिल्ला मकवानपुरको सिडिओ बन्न सफल भएकी छिन्।
२०८१ जेठ १३ गते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिडिओको जिम्मेवारी सम्हालेकी स्किमले ९ महिनापछि माईती जिल्लाको सिडिओ भएर जाने सौभाग्य प्राप्त गरेकी छिन्। मकवानपुरका सिडिओ तीर्थराज चिलुवालको अर्थ मन्त्रालय सरूवा भएपछि उक्त ठाउँ खाली थियो। सिडिओ खाली हुँदा गृह मन्त्रालय र नेतृत्वको आलोचना हुँदै आएको थियो। यसैबीच हेटौँडा–१६, हटिया मकवानपुरमा जन्मिएकी स्किमलाई गृह मन्त्रालयले मकवानपुर सिडिओ बनाएर हेटौंडा पठाउने निर्णय गरेको हो।
मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा जिप्रका धदिङबाट राजेन्द्र प्रसाद कडेलको सरुवा भएको थियो।