प्रदेशसभा सदस्यविरुद्ध पक्राउ पुर्जी जारी

निरन्तर न्यूज
८ असार २०८२, आईतवार २०:४३

बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । रायमाझीविरुद्ध जनमत पार्टीकै नेतृ आशा कुमारी चौहानले उजुरी दिएकी थिइन् ।

जिल्ला अदालत पर्साले जेठ १६ गते नै उनीविरुद्ध पक्राउ आदेश जारी गरे पनि पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्र लेखी रायमाझीलाई पक्राउ गरी बुझाइदिन अनुरोध गरेको छ । पक्राउ आदेश भएदेखि नै सुमन सम्पर्कविहीन भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

उजुरीकर्ता चौहानका अनुसार सुमनले साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् । सुमनले पटक–पटक गरी उक्त रकम फिर्ता गर्न विभिन्न चेकहरू दिएकी थिइन् । तर ती सबै चेक बाउन्स भएपछि आशाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेकी हुन् । यस प्रकरणमा सुमनमाथि चेक अनादर र बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरिएको छ।

एउटै पार्टीका कारण चिनजान भएपछि उनीहरूबीच राम्रो रहेको थियो। ‘प्रदेशसभा सदस्य भएकाले पैसा पक्कै फिर्ता आउला भन्ने सोचेँ, तर पैसा फिर्ता नभएपछि ठगिएको महसुस भयो ’ चौहानले भनिन् । पार्टीभित्र कुरा राख्दा पनि कसैले चासो नदेखाए पछि न्याय खोज्दै प्रहरीमा उजुरी गरेको उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*