हेटौंडा अस्पतालमा मुटुरोगको विशेषज्ञ सेवा सुचारु

निरन्तर न्यूज
२७ फाल्गुन २०८१, मंगलवार २२:०९

हेटौंडा। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा सुरु गरिएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आज मङ्गलबार एक कार्यक्रमबीच उक्त सेवाको शुभारम्भ गरेको हो ।

सेवा शुभारम्भ गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकार स्थापना भएपछि हेटौंडा अस्पतालको सेवा तथा सुविधामा उल्लेखनीय वृद्धि भएको बताए । उनले प्रदेश सरकार मातहत आएसँगै १३ वटै जिल्लाका अस्पतालको सेवा सुधार हुँदै गएको उल्लेख गरे ।

बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले सङ्घीयता लागू भएसँगै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा ठूलो सुधार भएको बताउँदै अस्पतालको स्तरोन्नतिका लागि थप मेडिकल उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गर्दै स्वास्थ्यकर्मीहरूलाई अनिवार्य रूपमा ड्रेस कोड पालना गर्न सुझाव दिए । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिए।

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार टिचिङ कार्डियो मनमोहन भास्कुलरमा अध्ययन गरेका मुटुरोग विशेषज्ञ डा. विकेश श्रेष्ठबाट दैनिक रूपमा सेवा सञ्चालन हुनेछ। क्याथ ल्याबको अभावले अप्रेसन बाहेकका अन्य मुटुरोगसम्बन्धी परीक्षणहरू – ईसीजी, इको, टीएमटी, हल्टर, एविपी जस्ता सेवा हेटौँडामै उपलब्ध हुने उनले जानकारी दिए।

यसअघि अस्पतालमा मुटुरोग विशेषज्ञको अभावले मुटु परीक्षणका लागि बिरामीहरूलाई अन्यत्र जानुपर्ने बाध्यता थियो। अस्पतालमा २०८० सालमै आवश्यक उपकरण उपलब्ध भए पनि विशेषज्ञ नहुँदा प्रयोगमा आउन सकेको थिएन। रोटरी क्लब मकवानपुरले हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा एक करोड रुपैयाँ बराबरको मुटु परीक्षण उपकरण उपलब्ध गराएपछि अस्पतालले मुटुरोग विशेषज्ञ नियुक्त गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*