नागरिकको अवस्थामा सकारात्मक परिवर्तन आउन सकेन : पूर्व राष्ट्रपति भण्डारी

निरन्तर न्यूज
२१ बैशाख २०८२, आईतवार ०८:४१

हेटाैँडा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा अझै पनि सकारात्मक परिवर्तन आउन नसकेको  बताएकि छिन् ।

शनिवार मदन भण्डारी फाउण्डेशन मकवानपुरको चौथो वार्षिक साधारणसभालाई हेटाैँडामा सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले नागरिकको आवश्यकता अनुसारको विकास अहिलेको आवश्यकता भएको उनले बताइन्  । भण्डारीले राजनीतिक परिवर्तन र संविधान समय समयमा बदल्दै आएता पनि जनताले महसुस गर्ने गरी सामाजिक र आर्थिक रुपान्तरणको कार्यभार पुरा गर्न अझै  बाँकी रहेकाे बताइन् । उनले भनिन् ‘जननेता मदन भण्डारीको विचारलाई सबै राजनीतिक दलले पछ्याउँदै नागरिकको जीवनस्तर परिवर्तन गर्नुपर्छ ।’

२०४७ सालको संविधानमा मदन भण्डारीको २७ बुँदे आलोचनाकै जगमा नेपालमा राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनले दावी गरिन् । ‘‘‘वर्गीय विविधतायुक्त समाजमा नागरिकको हितमा काम गर्ने र सधै जनतासँग जोडिएको राजनीतिक दल मात्र शासनमा पुग्ने गर्छ’ पूर्व राष्ट्रपति भण्डारीले भनिन् ।

फाउन्डेसन मकवानपुरको अध्यक्षमा पुनः रघुनाथ खुलाल चयन हुनु भएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा धर्म बस्नेत, सचिवमा कुमार केसी, सहसचिवमा चन्द्रावती पनेरु र कोषाध्यक्षमा गोकर्ण तिवारीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा मुकुन्द अधिकारी, आशाकाजी श्रेष्ठ, कमल कुमार विश्कर्मा, भगवती पुडासैनी, तुलसी रिजाल, किताब सिं लामा, विवश अधिकारी, रबि रेग्मी, खेमराज जर्गा मगर, विश्वराज राई, राधिकार चौलागाई, अर्जुन ढकाल, निर्मला ब्लोन, भवमाया श्रेष्ठ, किरन लामिछाने र सम्झना पौडेल चयन हुनुभएको छ । फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता एवम् फाउन्डेसनका संस्थापक अध्यक्ष एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्रीचन्द्र शर्मा स्मृति सम्मान २०८२ बाट हेटौंडा ८ कमानेकी शुभद्रा रेग्मीलाई सम्मान समेत गरिएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु