महिला राष्ट्रिय गोल्डकप प्रतियोगिता : एपिएफले वीरगन्जलाई १२-० ले हरायाे

निरन्तर न्यूज
२३ बैशाख २०८२, मंगलवार ०९:३८

हेटाैडा । हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता २०८२ काे सेमिफाइनल समिकरण पुरा भएकाे छ ।

साेमबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएकाे अन्तिम क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफले वीरगञ्ज युथ स्पोर्टस् एकेडेमीलाई  १२ गोलले हराउँदै सेमिफाइनलकाे यात्रा सुरक्षित गरेकाे हाे ।

एपीएफले पहिलो हाफमा ५ र दोस्रो हाफमा ७ गोल गरि कुल १२ गाेल  गरेको हो । खेलमा एपीएफकी रश्मी कुमारी घिसिङले ५ गोल गरिन् । उनले खेलको २३, ४९ र ६९ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् भने ७० औं र ७८ औं मिनेटमा थप गोल गरे गाेल संख्या ५ बनाएकि हु्न् ।

त्यस्तै खेलमा सरु लिम्बुले १९ औं मिनेटमा पहिलो गोल र  ३५  मिनेटमा दाेश्राे गाेल गरेकि थिइन् । २५ औं मिनेट अनिता केसि, ३९ औं मिनेटमा अनिता बस्नेत, ४५ औं मिनेटमा मन्जली योन्जन, ५१ औं मिनेटमा सजनी थोकर र ७३ औं मिनेटमा सविता रानाले गोल गरेकि थिइन् । खेलमा रश्मी घिसिङ म्यान अफ द म्याच घोषित भएर १० हजार रुपैयाँ प्राप्त गरिन् ।

अब एपीएफले मंगलबार साँझ ४ :३० बजे संकटासँग भिड्नेछ । संकटाले सिमराको नवजनजागृती युवा क्लबलाई ६–१ फराकिलो गोलान्तरले हराउँदै  सेमिफाइनल प्रवेश गरेको थियो । नेपाल पुलिस क्लब र चितवनबीच मंगलबार बिहान पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा दुई विभागीय टोली, एउटा ए डिभिजन टोली र पाँच जिल्ला गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफसहित संकटा क्लब तथा मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाको सहभागिता रहेकाे छ ।

महिला खेलाडीहरुले पछिल्लो समय उत्कृष्ट नतिजा प्रस्तुत गर्दै आएकोले उनीहरुलाई प्रोत्साहन गर्न मकवानपुरमा पहिलो पटक महिला फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल संघले जनाएकाे छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । हरेक खेलको म्यान अफ दि म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब ६१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु