जेठ ५ गते बागमतीको बजेट अधिवेशन बोलाउन सिफारिस

हेटाैँडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन जेठ ५ गतेका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खे (बजेट अधिवेशन) ५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बजेट अधिवेशन ५ गते ११ बजेका लागि बोलाउने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय भएको छ । सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति कार्यक्रममाथि छलफल गर्न प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको उनले बताए ।
उक्त सिफारिसका आधारमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गर्नेछन् । यसअघि प्रदेश सभाको हिउँदे अधिवेशन बैठक चैत २० गते अन्त्य गरिएको थियो । सत्तापक्ष र प्रतिपक्ष दलहरूबिचको विवादका कारण चैत १९ र २० गतेका लागि आह्वान गरिएको बैठकसमेत बस्न नसकेपछि सरकारले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरेको थियो ।
प्रदेश सभाको बैठक गत माघ २६ गतेदेखि बस्न सकेको छैन भने प्रदेश सभामा विचाराधीन चारवटा विधेयकका प्रतिवेदनसमेत होल्ड भएका छन् ।
पाँच सचिवको पदस्थापन तथा सरुवा
बागमती प्रदेश सरकारले पाँचजना सचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको बैठकले संघीय सरकारबाट सरुवा भएर आएका तीन सचिवको पदस्थापन गरेको हो भने दुई सचिवको जिम्मेवारी हेरफेर गरेर सरुवा गरेको हो । बैठकले संघीय सरकारबाट आएका वैकुण्ठ अधिकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेमराज भुसाललाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा झलकराम अधिकारीलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
बैठकले सामाजिक विकास मन्त्रालयको सचिवमा हाल उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव विनु बज्राचार्य र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रदेश सभा सचिवालयमा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो।सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरुजचन्द्र लामिछानेका अनुसार बैठकले उद्योग मन्त्रालयअन्तर्गत भू–उपभोग परिषद् गठन गरी दुईजना विशेषज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । जसमा तानसेन पाल्पाका विष्णुप्रसाद रिमाल र चितवनका हरिप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ।