हेटाैँडा आँखा अस्पतालमा निःशुल्क प्याडको सुविधा

हेटाैँडा । मकवानपुरको हेटौंडा उपमहनगरपालिका १० मा रहेको हेटौडा सामुदायिक आँखा अस्पतालमा सेवा लिन आउने महिलाहरुले अब महिनावारी प्याडको सुविधा पाउने भएका छन् ।
अस्पतालमा आउने महिला बिरामीहरुको लागि लक्षित गर्दै सेनेटरी प्याड भेन्डिग मेसिन जडान गरिएको छ ।
विहीबारबाट युक्ति फाउण्डेशन काठमाडौँले आँखा अस्पतालमा यो मेसिन जडान गरेसँगै अस्पतालमा आउने बिरामीले याे सेवा पाउने अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठले बताए ।
फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले अस्पतालका संरक्षक श्रेष्ठ र अस्पताल प्रमुख डाक्टर सुनिल थकालीलाई मेसिन हस्तान्तरण गरेका हुन् । “अब अस्पतालमा आउने महिला बिरामीहरु महिनावारी भएमा सेनिटरी प्याड किन्न बजारमा जानु पर्दैन” श्रेष्ठले भने । सेनेटरी प्याड वरपर पाइदैन ।
मेसिनमा आवश्यक सेनेटरी प्याड पञ्चसिद्धि फाउण्डेशनबाट सहयोग गर्नेछ । युक्ति फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले विदेशमा महिला दिदी बिहिनीहरुलाई महिनावारीको समयमा पर्न सक्ने समस्याको लागि विभिन्न स्थानमा यस्तो मेसिन हुने गरेको र नेपालमा पनि आफ्नो दिदी बिहीनीहरुलाई पर्न सक्ने समस्याको हल गर्न मेसिन विभिन्न स्थानमा डोनेशन गर्ने गरेको बताइन् । उक्त मेशीन ६० थान प्याड अट्ने क्षमताकाे हाे ।
हेटौडा सामुदायिक आँखा अस्पतालमा सहयोग गर्न पाउँदा आफू गौरवान्वित भएको उनले बताइन् । अस्पतालमा दैनिक २ सय भन्दा बिरामीहरु आउने गरेकाे अस्पतालले जनाएकाे छ ।