पत्रकार सुरक्षाको माग गर्दै जिल्ला प्रशासन र आन्तरिक मन्त्रालयलाई ज्ञापनपत्र

निरन्तर न्यूज
२९ बैशाख २०८२, सोमबार ०७:१५

हेटौँडा । पत्रकार सुरक्षाको माग गर्दै प्रेस सेन्टरले आइतबार बागमती प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । प्रेस सेन्टर बागमती प्रदेश समिति र मकवानपुर जिल्ला समितिले संयुक्त रुपमा पत्रकारको हकहित र सुरक्षाको माग गर्दै बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको हो ।

केन्द्रीय कार्यक्रम अनुसार प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाएको प्रेस सेन्टर बागमती प्रदेश समितिका अध्यक्ष धुव्र अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष अधिकारी नेतृत्वको टोलीले आन्तरिक मामिला तथा कानून मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख पदम ओझा मार्फत् मन्त्री सुरजचन्द्र लामिछानेलाई र मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । पछिल्लो समय सञ्चारकर्मीमाथि विभिन्न खालका आक्रमण हुन थालेको प्रति ज्ञापनपत्र मार्फत् गम्भीर चिन्ता व्यक्त गरिएको छ । संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित बन्न थालेकामा दुख व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि समयसापेक्ष सञ्चार कानुन निर्माणको माग गरिएको छ ।

१७ बुँदे ज्ञापनपत्रमा पत्रकारको हत्या छानविन, बेपत्ता पारिएका पत्रकारको अवस्था सार्वजनिकको माग, न्यूनतम पारिश्रमिकको कार्यान्वयन, मन्त्रालयले प्रदान गर्दै आइरहेको पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रमको बजेट वृद्धि, प्रदेश तहका विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था, सञ्चार तथा सवारी साधन खरिदमा भन्सार छुट लगायतका माग समावेश गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । ज्ञापनपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा कायम राख्न आफू प्रतिवद्ध रहेको र निर्धक्क भएर पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु