बकैयामा हर्दा खहरे बाेरिङ सिँचाई आयोजना संचालनमा
हेटाैँडा । मकवानपुरको बकैया गाउँपालिकामा बाेरिङ सिँचाई आयोजना संचालनमा आएकाे छ ।बागमती प्रदेश सरकारकाे सहयोगमा निर्माण भएकाे बकैया – ७ स्थित हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको बुधबार उद्घाटन गरेसँगै संचालनमा आएकाे हाे ।
आयोजनाको नेपाली काँग्रेसकी सह–महामन्त्री एवम् पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिना र प्रदेश खानेपानी उर्जा तथा सिँचाईमन्त्री श्याम बहादुर खड्काले संयुक्त उद्घाटन गरेका हुन् ।
नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले रासायनिक मलको कारण माटोको उर्वराशक्ति ह्रास हुँदै गएकोले रासायनिक मलको विकल्प खोज्न आवश्यकता रहेको बताइन् । ‘जल र मलको संयोजन मिलाउन सके कृषि उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिन्छ’ उनले भनिन् । स्थानीय सरकारले जैविक मलमा अनुदानको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।
प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाईमन्त्री खड्काले प्रदेशमा रहेका उर्वर जमिनमा मल, जल, बीउ र सिँचाइको व्यवस्था गरेर रोजगारी सिर्जना गर्न सकिने बताए । ‘नेपालमै रोजगारीको वातावरण बनाउन कृषि क्षेत्रको उत्पादकत्व बढाउनु पर्छ’ उनले भने । मन्त्री खड्काले अब ग्राउन्ड रिचार्ज प्रणालीको आवश्यकता बताए ।
कुल ३६ लाख लागतमा सम्पन्न आयोजनाबाट बकैयाका १५ बिगाहा क्षेत्रफल जमिनमा सिँचाई सुविधा उपलब्ध हुने छ । १० हर्जपावर क्षमताको पम्पमार्फत ८ लिटर प्रति सेकेन्ड पानी प्रवाह गर्न सक्ने क्षमता राख्ने भूमिगत सिँचाई आयोजना प्रमुख केशव जैशीले बताए । हर्दाका स्थानीय आकाशे पानीको भरमा वर्षको एकबाली मात्रै खेती गर्दै आएका थिए । बाेरिङकाे ब्यवस्था भएपछि वर्षभर खेती गर्न पाउने भएकाले उत्साहित बनेका छन् ।
सिँचाई उपभोक्ता समितिका अध्यक्ष तोत्रप्रसाद बोलखेको सभाध्यक्षतामा भएकाे उद्घाटनमा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली, पूर्व पालिका अध्यक्ष दामोदर खनाल, स्थानीय काँग्रेस नेता राजन घिमिरेलगायतकाे उपस्थिती थियो ।







