हेटौँडाका केही स्थानमा २ दिन पानी वितरण नहुने

निरन्तर न्यूज
२ जेष्ठ २०८२, बिहीबार २२:१३

हेटाैँडा ।  हेटौंडा उपमहानगरपालिका १ तिरतिरेधारा नजिक पर्खाल निर्माण गर्ने क्रममा खानेपानीको पाइपमा क्षति पुग्दा वितरण सेवा प्रभावित भएको छ।

हेटौंडा उपमहानगरपालिका–१ स्थित तिरतिरेधाराबाट करिब १०० मिटर उत्तरतर्फ सडक डिभिजन कार्यालयमार्फत सामरी खोलासम्म रिटेनिङ वाल निर्माण गर्ने क्रममा पानी वितरण गर्ने  १४ इन्चको करिब १५ मिटर लम्बाइको डिआई पाइप क्षतिग्रस्त भएको हो।

जसका कारण हेटौँडाको १, २, ४, ५ र १० नम्बर वडाका केही भागमा बिहीबार र शुक्रबार पानी वितरण अवरुद्ध हुने लागेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड मकवानपुरका सूचना अधिकारी सञ्जय कुमार न्यौपानेले बताए ।

यस क्षतिका कारण आज साँझदेखि भोली बिहानसम्म खानेपानी वितरण पूर्ण रूपमा बन्द हुने भएको छ। बोर्डको प्रमुख स्रोत सामरी समवेल र बुङ्गदल मुहानबाट आपूर्ति हुने पानी वितरण प्रणालीमा अवरोध आएको न्यौपानेले बताए।

सूचना अधिकारी संजय कुमार न्यौपानेका अनुसार, हरिकुञ्ज पानी ट्यांकीबाट वितरण हुने क्षेत्रमा पर्ने हेटौंडा नगरको मुख्य बजार क्षेत्रमा पानी आपूर्ति अस्थायी रूपमा रोकिएको छ। क्षति भएको पाइपको मर्मत कार्य तीव्र गतिमा भइरहेको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु