हेटाैँडामा फ्री फायर खेलकाे प्रतियोगिता हुने

हेटाैँडा । मकवानपुरकाे हेटौंडामा नेशनल गोल्ड कप सिजन १ फ्री फायर खेलकाे प्रतियोगिता हुने भएको छ। हेटौडाबाट प्रशारण हुने नेशनल गोल्ड टेलिभिजनको आयोजनामा उक्त प्रतियाेगिता हुदैंछ ।
“खेल अब शारीरिक मात्र नभई मानसिक र प्रविधिको संयोजनमा आधारित हुनुपर्छ” भन्ने मूल नाराका साथ हुने प्रतियोगिताकाे मुख्य प्रायोजन हेटौडा स्कुल अफ म्यानेजमेन्टकाे रहने छ । बागमती प्रदेश खेलकुद विकास परिषदको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिता बुधबारबाट औपचारिक रूपमा सुरु भएकाे छ । प्रतियोगिताकाे फाइनल १७ जेठमा आयोजना गरिने आयोजक संस्था नेशनल गोल्ड टेलिभिजनका अध्यक्ष उज्वल चौलागाँईले जानकारी दिए ।
१ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगिता नेपालकै ठूला ई स्पोर्ट्स प्रतियोगितामध्ये एक हुने उनकाे दाबी छ। मकवानपुर जिल्लामा यति ठूलो पुरस्कार राशिसहितको ईस्पोर्ट्स प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको हो। प्रतियोगितामा देशभरिबाट १६ वर्ष उमेर पुरा गरेका युवाहरूले अनलाइन गुगल फर्ममार्फत निशुल्क दर्ता गरेका छन्। ६ जेठसम्म खुल्ला गरिएको आवेदनमा १ हजार वटा टोलीको सहभागिता रहेको छ। प्रत्येक टोलीमा एकजना ब्याकअप खेलाडीसहित ५ जना खेलाडीको सहभागिता रहने उनले जानकारी दिए ।
सुरुका चरणका खेलहरू अनलाइन माध्यमबाट हुने भए तापनि क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल खेलहरू भने हेटौडाको हिमालयन दरबार पार्टी प्यालेसमा आयोजना गरिने छन् । प्रतियोगितामा एक पटकमा १२ टोलीका ४८ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन्। विशेषतः युवा पुस्तामा अत्याधिक लोकप्रिय रहेको फ्री फायरलाई आधार बनाएर यो प्रतियोगिता आयोजना गरिएको हो ।
आगामी संस्करण, सिजन २ बाट फुटबल लगायतका खेलहरूको प्रतियोगिता पनि समावेश गरिने आयोजकले जनाएकाे छ । यस्ता प्रतियोगिताले नेपाली ईस्पोर्ट्स क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। हेटौडा सिटी कलेज, जे एन्ड बी वारिष्ठा एकेडेमी, होटल वासुकला, होटल सुर्यान्स, ई स्पोर्ट कन्सल्टेन्सीले सह-प्रायोजन गरेका प्रतियोगिताकाे प्रत्यक्ष प्रशारण नेशनल गोल्ड टेलिभिजन, टेलिभिजनकाे आधिकारिक युट्युब च्यानल, फेसबुक पेजमार्फत गरिने आयोजकले जनाएकाे छ ।