बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

निरन्तर न्यूज
२२ जेष्ठ २०८२, बुधबार २१:३८

हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले आगामी आवको नीति तथा कार्यक्रम बागमती प्रदेश सभाबाट पारित गर्न प्रदेश सभाको आज बुधबार बसेको बैठकमा राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत गरेकाे हो ।

यसअघि मुख्यमन्त्री लामाले नीति तथा कार्यक्रममाथि वृहत रुपमा छलफलभएको भन्दै नीति तथा कार्यक्रमका आधारमा आगामी आवको बजेट आउने बताउनुभएको थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रदेश सभाको सदस्यहरुले जनता केन्द्रित योजना आउनुपर्नेमा जोड दिएका थिए ।

प्रदेशसभाको बैठकमा सरकारको नीति कार्यक्रम माथि सुस्पा भुजेल, युवराज चौलागाई र सृजना सायजु ३ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेता पनि उनीहरूको संशोधन प्रस्तावलाई प्रदेशसभाको बैठकबाट बहुमतले अस्वीकृत गरिएको थियो ।

प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश सभामा यही जेठ १४ गते बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवोधन गर्नुभएको थियो । प्रदेश सभाको बैठक अब जेठ ३० गते दिउँसो १  बजे बस्ने गरी स्थगित गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*