माओवादीले अग्नीबारे सर्वोच्चको आदेशको पूर्णपाठ कुर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको आदेशको पूर्णपाठ आएपछि मात्रै उपाध्यक्ष अग्नि सापकोटाको विषयमा आफ्नो धारणा बनाउने भएको छ। आज (बिहीबार) बिहान बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। सर्वोच्चको पूर्णपाठ हेरेर मात्र अदालतको आदेशबारे पार्टीले आफ्नो धारण बनाउने एक नेताले जानकारी दिए।
‘पार्टीको आधिकारिक धारणाको लागि अदालतको पूर्णपाठ कुर्ने निर्णय भएको छ,’ तीन नेताले सुनाए। बुधबार सर्वोच्च अदालतले पूर्व सभामुख समेत रहेको माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको थियो । पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पनि आफ्नो मुद्दाबारेको सर्वोच्च अदालतको हिजोको आदेश पूर्णपाठ हेरेर मात्र टिप्पणी गर्ने बताएका छन्।
खुमलटारमा पदाधिकारी बैठकपछि उनले भने, ‘अहिले आदेशको लिखित पनि आएको छैन। पूरै अध्ययन गर्नुपर्छ । मैले हिजोदेखि भन्दै आएको कुरा हो–अहिले छलफल गर्नुपर्ने आवश्यकता छैन।’ उनले यो विषयमा आ–आफ्नै ढंगले प्रचार गरिएको भन्दै ती प्रचारमा कुनै सत्यता नभएको जिकिर गरे। ‘जब पूर्णपाठ आउँछ त्यो राम्रोसँग अध्ययन गरेपछि राम्रोसँग टिप्पणी गर्नुपर्छ। अदालती कुरामा अधुरो अपूरो टिप्पणी गर्नु हुँदैन’, सापकोटाले भने।