निजामती सेवा विधेयकको विषयलाई लिएर कर्मचारीले दिए देशव्यापी आन्दोलनको चेतावनी

काठमाडौं। संघीय निजामति सेवासम्बन्धी कतिपय प्रावधानप्रति आपत्ति सिंहदरबार केन्द्रित धर्ना जारी राखेका कर्मचारीले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन्।
नागरिक सेवामैत्री एवं कर्मचारीमैत्री ऐन जारी गर्नुपर्ने माग गरिरहेका कर्मचारीले बिहीबार पाँचौँ दिन पनि सिंहदरबारमा धर्ना जारी राख्दै देशव्यापी आन्दोलनको चेतावनी दिएका हुन् । कर्मचारीको वृत्ति विकास हुने खालको ऐन प्रस्ताव नगरिएको उनीहरुको गुनासो छ ।
नेपाल कर्मचारी निजामति कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष प्रभास शाहले जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेर देशभर आन्दोलन गर्ने चेतावनी दिए।
‘धर्ना कार्यक्रम गर्न लागेको आज पाँच दिन भयो। भोलिसम्म धर्नामार्फत सांकेतिक आन्दोलन गर्छौं। जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप फेरेर देशभर आन्दोलन गर्छौं। हामी सिंहदरबारभित्र आन्दोलन गरिरहँदा र यही सिंहदरबारबाट देश चलाइरहँदा सरकारले हाम्रा कुरा सुनेको छौँ,’ उनले भने, ’हामीले सुनाउन नसकेको हो कि सुन्न नचाहेको हो। त्यसकारण हामीले अगामी आइतवारदेखि आन्दोलनका नयाँ कार्यक्रमहरू ल्याउँछौँ। ऐन तत्काल जारी होस्। त्यो ऐन जारी गर्नको लागि हामीसँग पनि सल्लाह र समन्वय गरेर हाम्रा मागहरू पनि पुरा गरियोस्। आम कर्मचारी र सेवाग्राहीको भावना समेटेर सेवामैत्री र कर्मचारीमैत्री निजामति ऐन ल्याइयोस्।’
निजामती कर्मचारीको हक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारीका ट्रेड युनियनहरूले आन्दोलनका कार्यक्रम गर्दै आइरहेका छन्।